• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा सोमवारदेखि कोरोना परीक्षणको तयारी

राजविराजमा सोमवारदेखि कोरोना परीक्षणको तयारी

राजविराज, १७ जेठ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ परीक्षण प्रयोगशाला रियल टाईम पिसिआर मेशिन सोमवारदेखि सञ्चालनमा आउने भएको छ ।
प्रदेश नम्वर २ को सामाजिक विकास मन्त्रालय जनकपुरले राजविराजकालागि पठाएको मेसिन जडान कार्य पूर्ण रुपमा सम्पन्न भईसकेपछि परीक्षण कार्य सोमवारदेखि सञ्चालनमा आउने भएको हो । कोभिड–१९ पिसिआर परीक्षण प्रयोगशालामा जडान गरिएको मेसिनको डेमो परीक्षण कार्य आइतबारैं गरिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले रियल टाईम पिसिआर मेशिन खरिद गरी राजविराज पठाईएको थियो । उक्त मेसिनको जडान कार्यमा गत आइतबारैदेखि ईन्जिनियरसहितको प्राविधिक टोली खटिएका छन् । अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमै सञ्चालन हुने उक्त मेसिनमा ९६ ओटा क्यासेट लाग्ने अर्थात एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्नसक्ने क्षमता रहेको डा. दासले बताए ।
अस्पतालमा प्रयोगशालाकालागि आवश्यक तयारीहरु भईसक्दा पनि मेसिन आपूर्तीमा ढिलाई भएका कारण कोभिड १९ परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन । राजविराजमा प्रयोगशाला नहुँदा स्वास्थ्य कार्यालय सप्तरी र अस्पतालमा संकलन गरिएका स्वाब धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईदैआएको छ । त्यहाँबाट स्वाब रिपोर्ट आउन १० दिनसम्म लाग्ने गरेकोले परीक्षण कार्यले गति लिन सकेको छैन ।