
राजविराज, १७ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिवार एक महिला सहित ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै सप्तरी जिल्लामा संक्रमितको संख्या ४२ पुगेको हो ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार डाक्नेश्वरी नगरपालिकामा संक्रमित संख्या १२ पुगेको छ । संक्रमितहरुको उमेर १८ देखि ६० वर्षसम्मको रहेको छ । उनीहरु भारतको विभिन्न स्थानहरुबाट आएका थिए ।
बोदेवर्साइन नगरपालिकामा संक्रमितको संख्या सर्वाधिक २१ जना रहेको छ । स्थानीय चन्द्रा शत्रुध्न माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दैआएका १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुको उमेर ४० वर्ष मुनि रहेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीबाट खटिएको टोलीले ९ दिन अघि उक्त क्वारेन्टाइनमा बस्दैआएका २४ जनाको स्वाब संकलन गरी परीक्षणकालागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । संक्रमितहरुमध्ये एक सुरक्षाकर्मी समेत रहेका छन् । उनी सोही क्वारेन्टाइनमा डियुटी गर्दैआएका थिए । अन्य ११ जना करिब दुई साता अघि खुल्ला सिमाना भएर भारतबाट आएका थिए ।
जिल्लाको बलान विहुल गाउँपालिकामा ३, विष्णुपुर गाउँपालिका १ र सुरुङ्गा नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेको छ ।