• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रुकुम र रुपन्देही घटनाका दोषीलाई कार्वाहीको माग गर्दै ज्ञापन–पत्र

रुकुम र रुपन्देही घटनाका दोषीलाई कार्वाहीको माग गर्दै ज्ञापन–पत्र

राजविराज, १५ जेठ । रुकुम र रुपन्देही घटनाका दोषीलाई कार्वाहीको माग गर्दै सप्तरी स्थित आधा दर्जन संघ–संस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन् ।
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवान, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विद्यानन्द राम, दलित अधिकारकर्मी राजकुमार पासवान
दलित अधिकारकर्मी एवम् पत्रकार राजु विश्वकर्मा, नेपाल राउत मेहतर उत्थान समाजका अध्यक्ष मनोज राउत मेहतर, दलित सरोकार मञ्चका अध्यक्ष युक्तिलाल मरिक लगायतले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत ज्ञापनपत्र पठाएका हुन् । चौरजहारी नगरपालिका–८निवासी बीरबहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुष्मा मल्ल र जाँजरकोट जिल्ला भेरी नगरपालिका वडा नंबर ४ का नवराज बिक बीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुन ेक्रममा यही २०७७ जेष्ठ १० गते सामुहिक हत्या गरिएको ज्ञापनपत्रमा दावी गरिएको छ ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार आफ्नी प्रेमिकालाई लिन त्यस रात साथीहरूका साथ चौरजहारी–८, सोती पुगेका जाजरकोट भेरी–४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार र गणेश बुढामगरको पनि हत्या हुनुका साथै सँगै गएका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता छन् । अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवताविरोधी यस हत्याकाण्डको घोर निन्दा तथा भत्र्सना गरिएको छ ।
यसैगरी रुपन्देही जिल्लाको देवदहमा गत शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय वीरेन्द्र भरले बलात्कार गरेको स्थानीय भनाई छ । तर शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेलाले बालिकामाथि अन्याय भएको भन्दै वीरेन्द्रलाई नै सजायस्वरूप बालिकालाई श्रीमती स्विकार्नुपर्ने जिम्मा लगाए । बलात्कारीकै जिम्मा दिएको अर्कोदिन नजिकैको खरबारीमा मृत भेटिएको घटनाप्रति समेत आफुहरुको गम्भिर ध्यानकषर्ण भएको भन्दै दोषीलाई कडा कार्वाही गर्न माग गरिएको छ । रुकुमपश्चिम चौरजहारीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । उक्त टोलीले रुपेन्देहीको घटना समेत छानविन गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
पाश्विक अमानवीय उक्त घटनाको छानविनकालागि सम्पूर्ण राजनीतिक दल, मानवअधिकार आन्दोलन, नागरिक आन्दोलन, संचारकर्मी र न्यायप्रेमी सबैमा आव्हान गरिएको छ । यसका साथै नेपालको सम्पूर्ण राजनीतिक संगठन, दलित नागरिक समाज, पेशागत संगठनहरुलाई यस हत्या काण्डको विरोधमा आ–आफ्नो स्थानबाट सक्रिय हुन संयुक्त रुपमा माग गरेका छन् ।