राजविराज, ११ जेठ । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सप्तरीका राजनीतिकर्मी, नागरिक समाज, सञ्चार उद्यमी सहितको टोलीले सप्तरीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार ध्यानाकर्षण–पत्र पठाएको छ ।
नेकपाका नेता एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत ध्यानाकषर्ण–पत्र पठाईएको हो । वर्षौंदेखि उपेक्षित सप्तरी जिल्लामा धर्तीपूत्र एवम् गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको सम्मानमा ऐतिहासिक नगरी राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना एवम् सञ्चालन गर्ने उद्घोष स्वयम् प्रधानमन्त्रीबाट उद्घोष भए पनि सरकारको नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै ध्यानाकर्षपत्र पठाईएको छ ।
प्रदेश नम्वर २ को सभालाई सम्बोधनका क्रममा भएको स्मरण गराउँदै आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेटमा ४० करोड रुपैयाँ समेत विनियोजन हुनुकासाथै प्रतिष्ठानको कार्यालय, पूर्वाधार तयारी विकास समितिको गठन तथा पदाधिकारी चयन समेत हुँदा सप्तरीसहित प्रदेश नम्वर २ र अन्य प्रदेशका सिमावर्ती जिल्लाका वासिन्दामा आशा एवम् उत्साहको सञ्चार भएको ध्यानाकर्षणपत्रमा जनाईएको छ । प्रधानमन्त्रीप्रति अगाध सम्मानसहित विश्वास समेत बढेको भन्दै जिल्लालाई समृद्ध बनाउन सापेक्षिक रुपमा विकासीय बजेटको अंकमा वृद्धि भएको आफुहरुले महशुष गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
प्रतिष्ठानकालागि राजविराज नगरपालिकाले वडा नम्वर–१० बिरौल स्थित ६१ बिघा जग्गा उपलब्ध गराएको र सो जग्गा सम्बन्धीको प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लगभग एक वर्षदेखि अड्काएर राखेको समेत चर्चा गरिएको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रममा यस प्रतिष्ठानबारेमा सम्बोधन समेत नभएको हुँदा आशातीत जनसमुदायमा भ्रम, आशंका, निराशाको साथै अविश्वास उत्पन्न हुने परिस्थिति श्रृजना हुन लागेको भन्द्र प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको छ ।
सरोकारवाला जनसमुदाय प्रधानमन्त्रीसँग आशावादी रहेको हुँदा आर्थिक वर्र्ष २०७७÷०७८ को बजेट वक्तब्य मार्फत आवश्यक बजेट विनियोजन गरी गतिका साथ प्रतिष्ठानसँग सम्वन्धित सम्पूर्ण प्रक्रियाहरु अगाडि बढाउन अपेक्षा सहित ध्यानाकर्षणपत्रमा उल्लेख छ । जनताले विकास निर्माणकालागि प्रधानमन्त्रीज्यूको उद्घोषलाई मूर्त रुप दिन अगाडि बढिसकेको योजनालाई बिच बाटोमा अवरोध पार्ने, गायब गर्ने प्रवृतिको विरुद्धमा आन्दोलित हुनुपर्ने स्थिति यहाँको कार्यकालमा आउने छैन भनी ध्यानाकर्षणपत्र मार्फत विश्वास व्यक्त गरिएको छ ।
ध्यानाकर्षणपत्रमा प्रदेश सभा सदस्य गोबिन्द बहादुर न्यौपाने, पूर्व अन्तरिम विधायक असर्फी सदा, नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, सञ्चार उद्यमी एवम् समाजसेवी शिवनारायण साह, नेकपाका प्रदेश सदस्य महेश प्रसाद यादव, पूर्व सांसद दानालाल चौधरी, नेताहरु देवनाथ यादव, भागवत यादव, प्रतापनारायण चौधरी, निरञ्जन झा, मो. डोमन, भोला प्रसाद यादव लगायतको संयुक्त हस्ताक्षर रहेको छ ।

