राजविराज, ९ बैशाख । जोखिमपूर्ण रुपमा कार्यरत उदयपुर जिल्लाका ५५ जना सञ्चारकर्मीको बिमा गरिएको छ ।
फ्रन्टलाइनमा काम गर्ने राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा खटिएका सञ्चारकर्मीहरुको बिमा आइएमई जेनरल इन्स्युरेन्समा गरिएको हो । जिल्लामा एक जना पत्रकार सहित ३३ जनामा कोरोना पुष्टि भई सकेको र अन्य स्थानहरूमा परीक्षणको दायरा बढ्न नसकको समयमा पत्रकारलाई एकलाख बरावरको बिमा गरिएको छ ।
बिमा गरिएका पत्रकारहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएमा बिमा कम्पनीले एक लाख रुपैया उपलब्ध गराउने जनाईएको छ । जोखिममा कार्यरत सञ्चारकर्मीहरुको बिमाकालागि कटारीका युवा व्यवसायी प्रयास कार्कीले सहयोग गरेका छन् । कोरोना संक्रमण भएपछि परिवारमा आउनसक्ने आर्थिक समस्या टार्न र दैनिकी चलाउन सहज हुने प्रेस संगठनका उदयपुर.संयोजक गणेश उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार प्रेस सङ्गठनमा आवद्ध ३४ जना पत्रकार, प्रेस युनियनमा आवद्ध १७ र अन्य गरी कुल ५५ जनाको बिमा गरिएको छ ।
श्रमजिवी पत्रकारलाई बिमा कार्यक्रमले ठुलो सहयोग पुग्ने प्रेस युनियन उदयपुरका अध्यक्ष तथा पत्रकार महासंघ उदयपुरका सचिव पर्शुराम थापाले बताए । पत्रकारको बिमा गर्न सहयोग गर्ने युवा व्यवसायी प्रयास कार्कीलाई युनियनका अध्यक्ष थापाले धन्यवाद एवम् आभार व्यक्त गरेका छन् ।
बिमामा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार माहासंघ प्रदेश १ का सचिव हरि कुमार.राई, पत्रकार महासंघ उदयपुरका पुर्व अध्यक्षहरू श्याम राई, ईश्वर कुमार तामाङ, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खडका, उपाध्यक्ष भोटराज राई, सह सचिव गजेन्द्र राई, बिदुर कटुवाल सहित जिल्लामा सकृय ५५ जनाको बिमा गरिएको जनाईएको छ ।