राजविराज, ६ जेठ । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा सप्तरीको रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समावेश नगरेको भन्दै स्थानीय राजनीतिक दलहरुले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख, राजनीतिक दलका अध्यक्षहरुले मङ्गलवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानलाई नीति तथा कार्यक्रममा समावेश गरी आवश्यक बजेट समेत विनियोजन गरि निरन्तरता दिन आग्रह गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेकपाका अध्यक्ष अशोक कुमार मण्डल (अमर), नेपाली कांग्रेसका सभापति दिनेश कुमार यादव, समाजवादी पार्टीका अध्यक्ष केदार यादव र राष्ट्रिय जनता पार्टीका जिल्ला संयोजक हरेराम यादवले संयुक्त प्रेस विज्ञप्तिमार्फत प्रतिष्ठान लगायत विभिन्न विषयहरुबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
०७६÷०७७ को बजेटमा प्रतिष्ठानकालागि ४१ करोड रुपैयाँ बजेट समेत विनियोजन भएको स्मरण गराउँदै राजविराज नगरपालिकाले ६० बिघा जग्गा समेत निर्णय गरी प्रतिष्ठानको नाउँमा दर्ता गर्न मन्त्री परिषद्बाट निर्णयकालागि पठाएकोमा फाइल थन्किएको भन्दै उनीहरुले आशंका व्यक्त गरेका छन् । यसैगरी गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई बजेट प्राथमिकतामा राखि सञ्चालन गर्न संयुक्त रुपमा माग गरिएको छ ।
सिमा सिल भएको अवस्थामा सिमा क्षेत्रमा भईरहेको अवैध रक्सी लगायत अन्य तस्करी नियन्त्रण गर्न, लकडाउनको आपूर्ती व्यवस्था सहज रहे पनि आम जनतालाई लकडाउनको कारण देखाउँदै कृत्रिम अभाव देखाई महँगोमा सामान बेचबिखन गरिरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । अनुदानमा आएको रु. २ हजार २ सयको रसायनिक मल २ हजार ८ सयदेखि ३ हजारसम्ममा बिक्री भईरहेकोले यस्ता कालाबजारीमा संलग्नलाई अविलम्ब कार्वाही गर्न राजनीतिक दलहरुले संयुक्त रुपमा सरकारसँग माग गरेका छन् ।
यसैबिच राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले दुवै सदनमा प्रस्तुत नीति तथा कार्यक्रममा प्रतिष्ठानलाई समावेश नभएकोमा आफुहरुलाई चिन्तित तुल्याएको भन्दै यसलाई समावेश गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठान निर्माण भए प्रदेश २ र १ अन्तर्गत पर्ने जिल्लाका वासिन्दाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै बजेटलाई निरन्तरता दिन उनले ध्यानाकर्षण गराएका छन् ।यसका साथै औद्योगिक क्षेत्रकालागि समेत नीति तथा कार्यक्रममा समावेश गरी बजेट बिनियोजन गर्न मेयर यादवले आग्रह गरेका छन् ।