राजविराज, ६ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जनामा आरडिटी परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार मङ्गलवार ९ जनाको आरडिटी परीक्षण गरिएकोमा कञ्चनरुप नगरपालिका वडा नम्वर–८ का एक जना बाहेक अन्यको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पोजेटिभ देखिएको छ । ती पुरुषको आरडिटी रिर्पोट पोजेटिभ आएकोले तत्कालै स्वाब संकलन गरी जाँचकालागि पठाईएको उनले जानकारी दिएका छन् ।
सप्तरी जिल्लाकालागि कुल एक हजार तीन सय आरडिटी किट प्राप्त भएकोमा हालसम्म ९ सय ४८ जनाको परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनहरुमा कुल ६ सय ९० जना सेल्फ क्वारेन्टाइनमा ३ सय ७० जना रहेका छन् । हालसम्म सप्तरी जिल्लामा ४ सय ५० जनाको स्वाब संकलन गरिएकोमा ४ सय १२ जनाको पिसिआर टेष्ट नेगेटिभ तथा एक जनाको पोजेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार ३७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।