• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भारतबाट सप्तरी प्रवेश गरेका ६ सय ५८ जना क्वारेन्टाइनमा

स्थानीय तहहरु धमाधम अस्थायी क्याम्प बनाउँदै
भारतबाट सप्तरी प्रवेश गरेका ६ सय ५८ जना क्वारेन्टाइनमा

राजविराज, ५ जेठ । भारतमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल सरकारले प्रवेशमा रोक लगाएपछि सिमामा कडा सुरक्षाका बावजुद पनि लुकिछिपी प्रवेश गर्ने क्रमले तिब्रता पाएको छ ।
अलपत्र परेका वा घर फर्किन चाहने व्यक्तिहरुकालागि भारत सरकारले रेल सेवा सुचारु गरी गन्तव्यतर्फ पुर्याउने क्रमलाई प्राथमिकताकासाथ अगाडि बढाएसँगै घरतर्फ हिँडेका नेपालीलाई सशस्त्र तथा नेपाल प्रहरीको टोलीले रोक्ने गरेका हुन् । सिमानाका भएर नेपालतर्फ प्रवेश गर्न नदिएपछि हजारौं नेपाली सिमा क्षेत्रमा अलपत्र परेका छन् ।
सरकारको आदेश आउला र आफुहरु आ–आफ्नो घरतर्फ प्रस्थान गरुँला भनी आशमा बसेका एक हप्ता भन्दा बढी हुन लागेको छ । तर सरकारले प्रवेश गर्न नदिएपछि उनीहरु बिचल्लीमा परेका छन् । नेपालतर्फका सुरक्षाकर्मीले ‘उतै जा भन्छन् भने भारततर्फका प्रहरीले यता हामी बस्न दिँदैनौं, आफ्नो देश जाउ’ भन्ने गरेको विषय संघीय संसदमा समेत सांसदहरुले कुरा उठाएका छन् ।
सप्तरी जिल्लामा ७८ किलोमिटरको खुल्ला सिमानामा एकअर्कालाई दखिने गरी प्रत्येक ३ सय मिटरको फरकमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । यद्यपी रातीको समयमा प्रहरीको आँखा छलेर जिल्ला प्रवेश गर्नेको ओइरो नै लागेको छ । एकातर्फ सरकारले आफ्नै देशका नागरिकलाई देश छिर्न रोक लगाएको छ भने अर्कोतर्फ लुकिछिपी आउने क्रम बढ्दै गएकोले कोरोना भाइरसको जोखिम समेत बढ्दै गएको छ ।
प्रत्येक लुकिछिपी घर फर्केकाहरुमध्ये कतिपय त आफै अस्पताल तथा क्वारेन्टाइन जाने गरेका छन् भने कतिपयले आफुलाई केही नभएको भन्दै घरमै लुकिछिपी बस्ने गरेको पाईएको छ । कोरोना सुरक्षाको नाममा सिमामा उनीहरुलाई रोक लगाउनु तथा अर्कोतर्फ लुकिछिपी प्रवेशले गर्दा झन संक्रमणको चुनौती थपिदैगएको गजेन्द्रनारायण सिंह अस्पतालका कोभिड १९ संयोजक डा. रणजित कुमार झा बताउँछन् ।
कोरोना जुनसुकै जात, धर्म वा समुदायलाई लाग्नसक्ने भएकोले यसबाट जोगिन सतर्कता आवश्यक रहेको उनको भनाई छ । भारतमा रहेका मजदूर, पेशाकर्मी वा विद्यार्थीहरु सिमानाकामा आईसकेको भए त्यसको सही व्यवस्थापन हुनुपर्ने बताउँदै डा. झा भन्छन् ‘अनाधिकृत रुपमा प्रवेश गर्ने क्रम नरोकिएकोले बाहिरबाट आएका जोकोहीलाई कोरोना परीक्षण आवश्यक छ, त्यसैले लुकिछिपी घरमा राखेर जोखिम बढाउनुभन्दा यथाशक्य चाँडो क्वारेन्टाइन वा स्वाब परीक्षण गराउनु आवश्यक छ ।’
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार भारतबाट लुकिछिपी प्रवेश गर्नेहरुमध्ये हालसम्म जिल्लाको विभिन्न क्वारेन्टाइनहरुमा ६ सय ५८ रहेका छन् । बलान बिहुल गाउँपालिकामा मात्रै एक सय भन्दा बढी व्यक्तिलाई राखिएको छ । सरकारले नेपाल प्रवेश गर्न रोक लगाए पनि लुकिछिपी प्रवेश गर्नेहरुको संख्या अत्यधिक रहेको बताउँदै उनी भन्छन् ‘सप्तरीमा अहिले ठूलो चुनौतीको रुपमा रहेको छ, उनीहरुमा संक्रमण हुनसक्ने सम्भावना छ, घरपरिवारमा घुलमिल भए परिवारमा समेत सार्न सकिने खतरा रहेकोले हामी सबै जिम्मेवार भएर त्यस्ता व्यक्तिलाई अविलम्ब क्वारेन्टाइन, अस्पताल वा स्वास्थ्य संस्थाको सम्पर्क पठाउन वा आफै जान आग्रह छ ।’
भारतबाट आएका व्यक्तिहरु उच्च जोखिममा रहेकोले सिमानाका जोडिएका स्थानीय तहहरुले क्वारेन्टाइन तथा अस्थायी क्याम्प निर्माण गर्न लागेको प्रमुख यादव जानकारी दिएका छन् । उनका अनुसार जिल्लाको बलान बिहुल, बोदेबर्साइन, डाक्नेश्वरी, राजगढ, छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाले भारतबाट प्रवेश गर्नेहरुलाई तत्कालकालागि सुरक्षित राख्न अस्थायी क्याम्प निर्माण कार्यलाई अगाडि बढाईएको छ । सप्तरी छिर्नेहरुलाई तत्काल बस्न लगाई विवरण संकलन गरी सम्वन्धित नगरपालिका तथा गाउँपालिकालाई खबर जिम्मा लगाईने स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिएका छन् ।
यता जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुर सरकारले नेपाल प्रवेश गर्न रोक लगाएका कारण सोही अनुसार सुरक्षाकर्मी रोक्ने गरेको प्रतिक्रिया दिएका छन् । लुकिछिपी प्रवेश गर्नेहरुको सुरक्षित रुपमा व्यवस्थापन गर्न आफुहरु गम्भीर रहेको उनको भनाई छ ।

तस्विरः  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा निर्माण हुँदै गरेको अस्थायी क्याम्प ।