राजविराज, ४ जेठ । कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरिएको लकडाउन पालना गराउन सप्तरी प्रशासनलाई यतिबेला हम्मेहम्मे परेको छ ।
सरकारले घरमै रहेर लकडाउन सफल पार्न आह्वान गरेकोमा राजविराज स्थित हटियामा खुद्रा व्यवसायीले पसल थाप्नुका साथै सर्वसाधारणको समेत चहल–पहल बढी हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न प्रशासनलाई हम्मेहम्मे परेको हो । विहानैदेखि खुद्रा व्यवसायीहरुका साथै किराना लगायतका ठूला पसलहरु लुकीछिपी खुल्ने गरेको छ ।
हटियाका साथै बजारमा मानव चहल–पहल बढेपछि खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खुद्रा पसलहरु हटाउने क्रममा दैनिकजसो सामान्य विवाद हुने गरेको छ । आग्रहलाई नटेरेपछि प्रहरीले सर्वसाधारणमाथि लाठी चार्ज समेत गर्ने गरेका छन् । प्रहरी र खुद्रा व्यापारी बिच जुहारी चल्ने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । हटियामा मास्क, चुरा, लगायतका खुद्रा सामानहरु विक्री नगर्न चेतावनी दिए पनि व्यापारीहरु नमानेको भन्दै प्रहरीले उनीहरुका सामान समेत फाल्ने गरेका छन् । प्रहरीले लकडाउन पालना गर्नुपर्ने भन्दैआएका छन् भने खुद्रा व्यापारीहरुले भने दैनिक छाक टार्न समस्या रहेको पसल थाप्नुपरेको दावी गर्छन् ।
किन आक्रोशित हुन्छन् प्रहरी ?
दैनिकजसो डियुटीमा खटिने प्रहरी टोलीहरु राजविराज नगरपालिकाको हटिया, चोक, मुख्य सडक लगायतका स्थानहरुमा अत्यधिक निगरानी गर्ने गरेका छन् । एक साता अघिसम्म लकडाउन पालना नभएको भनी व्यापक गुनासो आएपछि स्थानीय प्रशासनले कडाई गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुर बताउँछन् ।
बजारमा मोबाइल, कपडा, ईलेक्ट्रोनिक्स, हार्डवेयर, टेलर्स, होटेल सहितका पसलहरु लुकिछिपी खुल्ने गरेको छ । पसल खुल्ला रहेको पाएपछि प्रहरीले बन्द गराउने क्रममा सामान्य लाठीचार्ज गर्ने गरेको छ । प्रहरी आएको थाहा पाएसँगै कतिपय पसलेहरु बन्द गर्ने गर्छन् भने कतिपय सटर झारेर पसलभित्रै छिर्ने गर्छन् । त्यस क्रममा प्रहरी थप आक्रोशित बन्ने गरेको छ । बजारमा प्रहरी टोली पसेपछि भागाभागको अवस्था हुने गरेको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार प्रहरी निस्किने वितिक्कै पुनः पसलहरु खुल्ने गरेको छ । प्रहरीले यताबाट खेदेपछि अर्को गल्लीबाट भाग्ने र पुग्ने फेरी बजार तथा पसलहरुमा छिर्ने गर्छन् । सर्वसाधारण खेद्ने क्रममा प्रहरीहरु उत्तेजित हुँदै लाठीचार्ज गर्ने गरेको छ ।
पसल चलाउने नयाँ शैली
बजार क्षेत्रमा प्रहरी सक्रियता बढाएपछि पसलेहरुले प्रहरीले थाहा नपाउने गरी नयाँ शैली अपनाउने गरेको छ । लामो लकडाउनले गर्दा पसल व्यवसाय बन्द भएका कारण उनीहरु विस्तारै नयाँ तरिकाबाट पसल चलाउने गरेका छन् ।
यस्तो छ तरिका । अधिकांश पसलेहरुले आफ्नो पसलको सटर तथा ढोकामा मोबाइल नम्वर लेखेका हुन्छन् । कतिपयले पसल बन्द गरेर सम्पर्ककालागि नम्बर लेखेर टाँसेका छन् भने कतिपय पसलेहरु आफ्नै पसलमा थुनिएका हुन्छन् । ग्राहकले मोबाइलमा फोन गरेपछि आफु पसलभित्रै रहेकोले ग्राहकलाई नै सटर उठाउन भन्छन् । सटर उठेपछि ग्राहकलाई पनि पसलमै तानेर सामान बेच्ने गर्छन् । कतिपय पसलेलाई फोन गरेपछि भित्रबाट आएर ढोका खोलेर ग्राहकलाई भित्रै लग्ने गर्छन् । पुनः चुकुल लगाएर भित्रै सामान खरिद बिक्री हुन्छ । केही पसलवालाहरुले भने सटर अगाडि एक–दुई जनालाई आसपासमा प्रहरी आए नआएको तथा ग्राहकलाई तान्नका लागि खटाएका हुन्छन् । उनीहरुले सटरको ताला खोलेर ग्राहकलाई पस्न लगाई पुनः सटर झारेर ताल्चा हान्ने गर्छन् । यसरी राजविराजमा दैनिकजसो लुकिछिपी व्यापार भईरहेको छ । जसले गर्दा लकडाउनको अवज्ञा मात्र नभई कोरोना संक्रमणको खतरा समेत बढेको छ ।
खुद्रा व्यापारीको आफ्नै व्यथा
केही ठूला व्यवसायीले त चोरबाटो प्रयोग गरी थोरबहुत व्यवसाय सञ्चालन गरेका छन् । तर हटियामा भुइँ तथा खाटमा सामान राखेर बिक्री गर्नेहरु प्रायः प्रहरीको तारो बन्ने गरेको छ । प्रहरीले पसल हटाउन भन्दा भनाभन शुरु भई विवाद उत्पन्न हुने गरेको छ ।
खुद्रा व्यवसायीको भने आफ्नै व्यथा छ । उनीहरुका अनुसार राजविराज नगरपालिकाले १५ किलो चामलवाला राहत बाँडेको डेढ महिना भईसकेको छ । राहतको चामलले जेनतेन हप्ता दश दिन चल्यो । तर अब के खाने ? बालबच्चालाई के खुवाउने ? कुनै विकल्प नभएपछि पसल थाप्नु परेको खुद्रा व्यवसायीहरु पीडा सुनाउँछन् । आफुहरु भोकले मर्ने अवस्था आएको पीडा सुनाउँदै कुशेश्वर साहले भने ‘कि त सरकारले हातमुख जोर्ने व्यवस्था गरिदिनुप¥यो कि त पसल खोल्न दिनुप¥यो, भोकले मर्नुभन्दा त कोरोनाको जोखिम झेल्नु नै ठिक ।’
के भन्छन् स्थानीय प्रशासन ?
राजविराज नगर क्षेत्रमा लकडाउनको व्यापक अवज्ञा हुने गरेकोले कोरोना भाइरस संक्रमणको जोखिम समेत बढ्दै गएकोले लकडाउन पालना गराउन सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले बताए । किराना, तरकारी लगायतका पसल खोल्नकालागि केही घण्टा समय तोकिएकोमा व्यापक भींडभाड हुने गरेकोले समय नतोकिएको उनले जानकारी दिए । सप्तरी जिल्ला समेत कोरोनाको उच्च जोखिममा रहेकोले हामीले अति आवश्यक बाहेकको अवस्थामा घरबाट ननिस्किन आग्रह गरेको ठाकुरले बताए ।
सप्तरी
लकडाउन पालना गराउन प्रहरीलाई हम्मेहम्मे
पसल चलाउने नयाँ शैलीः पसलभित्र आफै थुनिन्छन् पसले