• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा अझैं सञ्चालन भएन कोभिड १९ प्रयोगशाला

जनकपुर र वीरगञ्जमा एक महिना अघिदेखि नै प्रयोगशाला सञ्चालनमा रहेको छ ।
राजविराजमा अझैं सञ्चालन भएन कोभिड १९ प्रयोगशाला

राजविराज, ३ जेठ । प्रदेश नम्वर २ सरकारले निर्णय गरेको करिब दुई महिना बित्नै लाग्दा पनि सप्तरीको राजविराजमा अझैं कोभिड १९ पिसिआर प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन , ।
गत चैत्र १३ गते मन्त्री परिषद्को बैठकले प्रादेशिक अस्पताल जनकपुर, विरगंज र राजविराजमा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको थियो । एक महिना अघिदेखि नै जनकपुर र विरगञ्जमा प्रयोगशाला सञ्चालनमा रहेको छ ।
प्रादेशिक अस्पताल राजविराजमा भने प्रयोगशाला कक्ष तयारी अवस्थामा रहे पनि उपकरण नै नआएका कारण सञ्चालनमा आउन सकेको छैन । पिसिआर प्रयोगशाला सञ्चालनमा नआएका कारण संकलन गरिएका स्वाब सुनसरीको धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरिएको अस्पतालका कोभिड १९ व्यववस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिए । उनका अनुसार राजविराजबाट पठाईएको स्वाब रिपोर्ट आउन दुई तीन दिनसम्म लाग्ने गरेको छ ।
भारतसँग खुल्ला सिमानाले गर्दा प्रहरीलाई छलेर जिल्ला प्रवेश गर्ने क्रम समेत बढेकोले स्वाब परीक्षण कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेकोले अविलम्ब कोभिड १९ प्रयोगशाला सञ्चालन हुनुपर्नेमा उनले जोड दिए । डा. झाले भने ‘स्वाब परीक्षणको रेसियो बढेसँगै संक्रमितहरुबारे वास्तविकता सामुन्ने आउनेछ ।’
स्वास्थ्य कार्यालय सप्तरीबाट संकलित स्वाब समेत गजेन्द्रनारायण सिंह अस्पतालबाटै सुरक्षित साथ एम्बुलेन्समा राखेर पठाउने गरिएको छ । उताबाट स्वाब रिपोर्ट समेत ढिलो आउने गरेकोले स्वाब संकलनले समेत गति लिन नसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
प्रदेशबाट कोभिड १९ परीक्षण प्रयोगशाला स्थापनाबारे आफुले जानकारी पाएलगतै व्यवस्थापनमा जुटेको बताउँदै उनले भने ‘अस्पतालमा अहिले भवन अभाव छ, पुराना अधिकांश भवनहरु भत्काईएको छ, नयाँ भवनहरु बन्ने क्रममा छ, यस्तो अवस्थामा पनि अस्पताल परिसरमै रहेको प्रयोगशाला भवनमै कोरोना परीक्षणकालागि ५ ओटा कोठा तयार गरेका छौं, प्रदेशबाट मेसिन र प्राविधिक आएको दुई तीन दिनभित्रै परीक्षण कार्य थाल्नेछौं ।’
सोमबारतिर काठमाण्डौबाट मेसिन जनकपुर आउने मन्त्रालयबाट जानकारी पाएको डा. दासले बताए । उनका अनुसार राजविराज आउने मेसिनमा ९६ ओटा क्यासेट अर्थात एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने छ । एक सिफ्टमा कम्तिमा ६ जना कर्मचारी आवश्यक रहेकोमा माइक्रोबायोलोजिष्ट एक जना प्रदेशबाटै पठाइने तथा अन्य कर्मचारीको व्यवस्थापन अस्पतालले नै गर्ने उनले जानकारी दिए ।