• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लुकिछिपी प्रवेश गर्नेहरुका कारण कोरोना जोखिम बढ्दो, अस्पतालमा १८ बेडको आइसोलेसन कक्ष, थप तयारी जारी

लुकिछिपी प्रवेश गर्नेहरुका कारण कोरोना जोखिम बढ्दो,  अस्पतालमा १८ बेडको आइसोलेसन कक्ष, थप तयारी जारी

राजविराज, २ जेठ । भारतबाट लुकीछिपी स्वदेश फर्किने क्रम बढेसँगै सप्तरी जिल्लामा संक्रमित बढ्नेसक्ने सम्भावना रहेकोले पूर्व तयारी थालिएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइसोलेशन कक्ष विस्तार गर्ने कार्यलाई तिब्र रुपमा अगाडि बढाईएको हो । शरुवातमा ६ बेडको आइसोलेशन कक्ष मात्र रहेकोले हाल विस्तार गरी १८ ओटा बेड पुर्याईएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
देशका विभिन्न प्रदेशहरुको तुलनामा प्रदेश नम्वर २ कोभिड १९ (कोरोना भाइरस) संक्रमणमा उच्च जोखिममा रहेको जानकारी दिँदै उनले भने ‘सप्तरी जिल्ला समेत रेड जोनमा छ, स्वाब परीक्षण कार्य तिब्र रुपमा भईरहेकोले संक्रमितहरुको संख्या बढ्नसक्ने अवस्था छ ।’ प्रदेशका अन्य जिल्लाहरु जस्तै सप्तरी जिल्लामा समेत खुल्ला सिमाना रहेकोले भारतबाट लुकीछिपी सप्तरी प्रवेश गर्ने क्रम बढेकोले जोखिम बढ्नसक्ने डा. दासले बताए ।
भारतबाट आउनेहरुमा अत्यधिक मजदूर तथा विद्यार्थी रहेको जानकारी दिँदै उनले भने ‘प्रहरीलाई छलेर जिल्ला भित्रिनेहरुमध्ये केही आफै स्वास्थ्यकर्मीको पहुँचमा तथा स्वाब परीक्षणकालागि जाने गरेको र केही लुकिछिपी घरमै पनि बस्ने गरेको पनि पाईएकोले संक्रमित बढाउन सकिने खतरा छ ।’ सम्भावित चुनौतीहरुलाई मध्यनजर गर्दै आफुहरु पूर्व तयारीमा जुटेको उनले जानकारी दिए ।
अस्पतालमा भौतिक पूर्वाधारको चरम अभाव रहेको अवस्थामा पनि हालसम्म १८ बेडको छुट्टा–छुट्टै आइसोलेसन कक्ष तयार गरिसकिएको तथा थप व्यवस्थापनकालागि प्रयासरत रहेको उनले बताए । जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले जिल्लाको युनिक अस्पताललाई विकल्पको रुपमा व्यवस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको डा. दासले जानकारी दिए ।
यसका साथै अर्को विकल्पको रुपमा स्थानीय साईकृष्ण मेडिकल कलेजको भवनमा आइसोलेशन विस्तार गरिने उनले बताए । जिल्लामा अझैं तयारीहरु आवश्यक रहेकोले दैवी प्रकोप व्यवस्थापन समिति मार्फत समेत अन्य तयारीहरु भईरहेको बताउँदै भने ‘सम्भावित चुनौतीलाई मध्यनजर गर्दै हामीहरु आवश्यक तयारीमा जुटेका छौं ।’
सप्तरीमा हालसम्म गजेन्द्रनारायण सिंह अस्पतालमा ८० जना र स्वास्थ्य कार्यालय मार्फत ४ सय १३ जनाको स्वाब परीक्षण गरिएको छ । ४ सय ९३ जनाको स्वाब परीक्षण गरिएकोमा एक जना १८ वर्षिय युवकमा मात्रै कोरोना पोजेटिभ पाईएको छ ।