• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लकडाउनमा हात्तीले घर भत्काएपछि तामाङ परिवारको बिचल्ली

लकडाउनमा हात्तीले घर भत्काएपछि तामाङ परिवारको बिचल्ली

बृजमान तामाङ
बिरेन्द्र बजार, २ जेठ । लकडाउनमा दैनिक हातमुख जोर्न समस्या भईरहेको अवस्थामा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का एक तामाङ परिवारको घर हात्तीले बिहिबार राती तोडफोड गरेपछि बिचल्लीमा परेका छन् ।
बेरोजगार भएकै बेला जङ्गली हात्तीले घर तोडफोड गरेपछि दिपक कुमार तामाङको परिवार बिचल्लीमा परेका हुन् । जङ्गली हात्तीले घर तोडफोड गरि घरमा भएको खाद्यान्न लगायतका सामाग्रीहरु नष्ट गरेपछि उनीहरुको दैनिकी झन कष्टकर बनेको छ ।
मध्यरातमा एक्कासी हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान बचाउन सफल भएको दिपकका पत्नी हिरा तामाङले बताईन् । गाउँमा होहल्ला हुँदा हात्ती आएछ भनी थाहा हुन्थ्यो हिराले भनिन् ‘आज आएको थाहै पाईएन, एक्कासी घर हल्लाए पछि मात्र थाहा भयो ।’
घर छोडेर भागेपछि हात्तीले चामल, मकै, मकैको पीठो, कोदो, सोलार, टिनको बाकस र घर सहित गरि २ लाख बराबरको क्षति गरेको पीडितले बताएका छ्न । हात्तीले टिनको बाकसमा राखेको केही महत्वपूर्ण कागजपत्र समेत नष्ट पारेको तामाङले बताए । लकडाउनले रोजगारी नपाएर छाक टार्न समस्या छँदै थियो तामाङले दुखेसो पोख्दै थपे ‘घामपानी छल्ने झुपडी समेत नहँुदा बाच्नुको अर्थ नै छैन भन्दै निरासा व्यक्त गरे ।’
तामाङ परिवार छिमेकीको घरमा शरण लिएर बसेका छन् । दैनिक ज्यालादारी र तरकारी खेतीमा आश्रित तामाङ परिवार हात्तीले भएको घर समेत भत्काएकाले उनीहरुको जिविकोपार्जनमा समस्या भएको स्थानीयले बताएका छन् । स्थानीय सरकारले समेत आफुहरुलाई राहतमा भेदभाव गरेको पीडित परिवारको दुःखेसो छ ।
गाउँका हुनेखाने र पहुँचवालालाई वडाले राहत दिए पनि आफुले राहत नपाएको उनले सुनाए । जङ्गली हात्तीले तामाङ परिवारको घर बस्नै नमिल्ने गरि तोडफोड गरेको रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापा मगरले जानकारी दिए । वडा अध्यक्ष मगरले तामाङ परिवारको बासको ब्यबस्था मिलाउने साथै क्षतिपूर्तिकालागि पहल गर्ने प्रतिवद्वता व्यक्त गरे ।
यस क्षेत्रमा दैनिक जंगली हात्ती बस्ती प्रबेश गरि सयौं घर तोडफोड गरेका छन् भने किसानले लगाएको अन्नबाली नष्ट गरि दर्जनौ ब्यक्तिको ज्यान लिएका छन् । हात्ती नियन्त्रणतर्फ भने सम्बन्धित निकाय मौन रहेको पीडितहरुको आरोप छ ।