राजविराज, ३० वैशाख । डाक्नेश्वरी नगरपालिका–३ हटैलका एक युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरुले गुनासो गरेका छन् ।
बस्तीमा संक्रमित भेटिएसँगै आफुहरु त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै चासो नदेखाएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । कोरोना संक्रमित युवा बस्तीमा घुमफिर गर्नुका साथै विभिन्न व्यक्तिहरु उठबस गरेको पाईए पनि स्थानीय प्रशासन तथा जनप्रतिनिधीले वास्ता नगरेको चन्द्रशेखर साहले गुनासो गरे । ‘विभिन्न सञ्चारमाध्यमहरुमा हाम्रो हटेल गाउँलाई सिल गरिएको समाचारमा आएको छ, तर हामीले बस्तीमा कुनै त्यस्तो अनुभूति गरेका छैनौं’ उनले भने ‘जसलाई जहाँ घुम्न मल लागेको छ, घुमेकै छ, एक पटक मात्र प्रहरीको खाली गाडी गाउँमा आएको हो, सुरक्षाकर्मी पनि कतै छैन ।’
संक्रमित व्यक्तिको घर, उठबस गरेको ठाउँसहित टोलमा सेनिटाइज गर्नुपर्नेमा हालसम्म केही नभएको उनले गुनासो गरे । टोलमा हामी त्रासमा बसिरहेका छौं, कही कतै नत सुरक्षा छ, नत सतर्कता नै’ चन्द्रशेखरले थपे ‘स्वास्थ्यकर्मीको टोली आएर सघन रुपमा कोरोनाको परीक्षण आवश्यक छ तर यसतर्फ कसैले चासो लिएको छैन ।’ भारतीय सिमावर्ती क्षेत्र तथा अति विकट ठाउँ रहेकोले वास्तविकता बुझ्न बाहिरबाट समेत कोही नआएको गुनासो गर्दै उनले आफुहरुको समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।
यस्तै आक्रोश रहेको छ अर्का युवा मो. सेराज हुसेनको पनि । कोरोना संक्रमण पुष्टि भएका युवा चितवनबाट आई माध्यमिक विद्यालय पातो स्थित क्वारेन्टाइनमा बस्दैआएकोमा स्वाब रिपोर्ट नै नआएको अवस्थामा डिस्चार्ज गरेर ठूलो लापर्वाही गरेको उनले बताए । ती युवक विभिन्न स्थानका साथै वस्तीका कैयौं व्यक्तिसँग उठबस गरेकोले अन्य थप कस–कसमा कोरोना भाइरस सारेको हो ? भनी यकिन गर्न सकिने अवस्था नरहेको गुनासो गर्दै उनले भने ‘बिना रिपोर्टकै डिस्चार्ज गर्ने व्यक्ति तथा सो आदेश दिने व्यक्तिलाई कडा कार्वाही हुनुपर्छ, यता बस्तीका वासिन्दाहरुको अविलम्ब परीक्षण गर्नु आवश्यक छ ।’
यता वडा अध्यक्ष प्रदिप कुमार साहले बस्तीका एक जनामा संक्रमण देखिएसँगै आफुहरु चनाखो भई स्थानीय प्रहरी चौकीसँगको समन्वयमा सुरक्षा सतर्कता बढाएको र मङ्गलबारैदेखि सेनिटाइज गर्ने कार्य थालिने बताए । बस्तीलाई सिल गरिएको विषयमा उनले भने ‘बस्ती सिल गरिएको छैन तर सुरक्षा सतर्कता बढाईएको छ ।’
युवकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि परिवारका तीन जना सदस्य सहित १८ जनालाई क्वारेन्टाइन पठाइएको छ । स्वास्थ्य कार्यालयबाट खटिएको टोलीद्वारा उनीहरु सहित माध्यमिक विद्यालय पातो क्वारेन्टाइन रहेकाहरु मङ्गलबारै स्वाब संकलन गरिएको छ । उक्त स्वाब परीक्षणकालागि वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।