• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डाक्नेश्वरी नपामा जनप्रतिनिधी र कर्मचारी कार्यालय आउन छाडे

डाक्नेश्वरी नपामा जनप्रतिनिधी र कर्मचारी कार्यालय आउन छाडे

राजविराज, ३० वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक युवामा कोरोना संक्रमण देखिएसँगै जनप्रतिनिधी तथा कर्मचारीहरु अझ सक्रिय हुनपर्नेमा कार्यालय नै आउन छाडेको भन्दै नगरका अगुवाहरुले आक्रोश व्यक्त गरेका छन् ।
डाक्नेश्वरी नगरपालिका–३ हटैलका एक १८ वर्षिय युवकमा कोरोना संक्रमणको सोमवार पुष्टि भएको हो । लकडाउन घोषणा भएसँगै कार्यालयमा कार्यकारी अधिकृतदेखि अन्य कर्मचारीहरु समेत कार्यालय आउन छाडेको स्थानीयहरुको आरोप छ ।
कोरोना पोजेटिभ पुष्टि भएसँगै वस्तीहरुमा त्रास रहेको अवस्थामा जनप्रतिनिधीका साथै कर्मचारीहरु समेत कार्यालय आउन छाडेको नगरपालिकाका राजनीतिकर्मी रामलखन मुखियाले आक्रोश व्यक्त गरे । नागरिकलाई संक्रमणबाट जोगाउन जनप्रतिनिधीहरु सक्रिय भएर आफ्नो दायित्व बुझ्नुपर्नेमा अन्यत्र बस्ने गरेको बताउँदै उनले भने ‘बस्तीहरुमा त्रास रहेकोले आवश्यक सुरक्षा एवम् स्वास्थ्य सतर्कतामा ध्यान दिनु आवश्यक छ तर हालसम्म खासै पहल भएको छैन ।’
यस्तै गुनासो गर्छन अर्का स्थानीय राजनीतिकर्मी भगवती प्रसाद यादव । नगरपालिकाका मेयर लगायतका जनप्रतिनीधिहरु जनताको समस्याप्रति गम्भीर नरहेको उनको आरोप छ । टोल–बस्तीहरुलाई सेनिटाइज गर्नुका साथै सम्भावित व्यक्तिहरुको परीक्षण गराउने कार्यलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताउँदै उनले भने ‘मेयर लगायतका जनप्रतिनिधीहरु गम्भीर भई कर्मचारीहरुलाई समेत आवश्यक तयारीकासाथ परिचालित हुनु जरुरी छ ।’
नगरमा लकडाउनको समेत पालना नभएकोले भद्रगोल अवस्था रहेकोले जनप्रतिनिधीहरुको सक्रियता आवश्यक रहेको स्थानीय महिला नेता मिरा यादवले बताईन् । लकडाउनको पालना गराउन प्रहरी परिचालन तथा क्वारेन्टाइनहरुमा अनुगमन तथा समुचित व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।
यता मङ्गलवार नगरपालिका कार्यालयमा दिनभरि हामी निगरानी गर्दा कार्यालयमा स्वास्थ्य शाखाका दुई जना कर्मचारी मात्र आफ्नो काममा खटिएको देखिन्थे । मेयर, उपमेयर, कार्यकारी अधिकृत लगायत अन्य शाखाका कोठाहरु बन्द रहेको थियो ।
उक्त विषयमा डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहले संक्रमण देखिएको वडालाई सेनिटाइज गर्न टोली पठाईएको तथा संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेकाहरुको पहिचान गरी स्वाब परीक्षणको तयारी भईरहेको बताए । आफु आवश्यक परेको बेला नगरपालिकाको विभिन्न वडाहरुमा पुग्ने गरेको तथा स्वास्थ्यका कर्मचारीहरु कार्यक्षेत्रमा काम गरिरहेको बताउँदै उनले भने ‘नगरपालिकाले गर्नुपर्ने आवश्यक कामहरु भईरहेको र वडाका जनप्रतिनिधीहरु समेत सक्रिय छ ।’