Top_Header_Right_Add

सप्तरीमा आरडिटी किट र भिटीएम अभाव

सप्तरीमा आरडिटी किट र भिटीएम अभाव

राजविराज, २८ वैशाख । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) किट र भिटीएम अभाव भएको छ । शंकास्पद तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिकजसो कोरोना परीक्षण गर्न थालिएपछि आरडिटी किट र भिटीएमको अभाव भएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शंकास्पद तथा राजविराजमा रहेको क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई परीक्षण गर्दै आएकोमा हाल आएर किट र भिटीएम दुवै अभाव भएपछि समस्या भएको छ । हाल अस्पतालमा ४–५ वटा मात्र आरडिटी किट र भिटीएम उपलब्ध रहेकोले सो भन्दाबढी शंकास्पद व्यक्ति आएमा परीक्षण गर्नसक्ने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले बताए । ‘अहिले अस्पतालमा ४–५ वटा आरडिटी किट र ४–५ वटा भिटीएम मात्रै छ, तत्कालै सोभन्दा बढी शंकास्पद व्यक्ति अस्पतालमा आयो भने परीक्षण गर्न समस्या हुन्छ’ उनले भने–‘आरडिटी किट आउँछ कि आउँदैन भन्ने विषयमा यकिन हुन सकेको छैन, तर भिटीएम पठाइदिन हामीले सवैतिर आग्रह गरेकै हो।’
प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रले एक–दुईभित्रै भिटीएम पठाइसक्ने आश्वासन पाएको मेसु डा.दासले बताए ।
१ हजार व्यक्तिलाई परीक्षण गर्ने लक्ष्य
सप्तरीमा जमाती तथा बाहिरबाट आएका १ हजार व्यक्तिलाई कोरोना परीक्षण गर्ने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ । तर, आरडिटी र भिटीएम अभावका कारण लक्ष्य पुरा गर्न समय लाग्नसक्ने सम्भावना बढेको छ ।
कार्यालयमा हाल ८६ वटा मात्र भिटीएम उपलब्ध रहेको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन । ‘हिजो मात्रै आयोजना गरिएको सर्वदलिय बैठकबाट सप्तरीमा १ हजार व्यक्तिलाई परीक्षण गर्ने भएको निर्णयअनुसार जमाती र बाहिरबाट आएका व्यक्तिहरुको सुची संकलन कार्य भइरहेको छ’ उनले भने–‘तर अहिले हामीसँग ८६ वटा मात्रै भिटीएम छ, तत्कालै भिटीएम उपलब्ध भएन भने केही समय लाग्नसक्छ ।’
उनले सम्वन्धित सवैतर्फबाट भिटीएम माग गरिएको बताए । ‘भिटीएम अभाव रहेको विषयमा हामीले सवैतिर जानकारी गरायौ’ उनले भने–‘प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रले एक–दुईभित्रै पठाइसक्ने प्रतिक्रिया जनाए ।’

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer