• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वन्दाबन्दीले डुङ्गा नदी किनारमै थन्कियो

१ सय ५० मुखिया परिवारलाई हातमुख जोर्न समस्या
वन्दाबन्दीले डुङ्गा नदी किनारमै थन्कियो

राजविराज, २७ वैशाख । वन्दाबन्दीका कारण डुङ्गा चलाउन नपाउँदा पुख्र्यौली रुपमा सप्तकोशी नदीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ मुखियाटोलका १ सय ५० मुखिया परिवारलाई हातमुख जोर्न समस्या परेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति स्थानीय प्रशासनले डुङ्गामा ताल्चा चलाएपछि उनीहरुले सञ्चालन गर्दैआएको डुङ्गा किनारमै थन्किएको छ । मुखियाटोलका १ सय ५० मुखिया परिवार सप्तकोशी नदीमै आश्रित छन् ।
पुख्र्यौली रुपमा माछा मारेरै उनीहरु आफ्ना परिवारको गुजारा चलाउँदै आएपनि यतिवेला वन्दाबन्दीका कारण डुङ्गा नदी किनारमै थन्किएपछि उनीहरुलाई हातमुख जोर्न समस्या परेको हो । ‘परिवारको गुजारा चलाउने एक मात्र विकल्प रहेको डुङ्गा हो’ मनिकलाल मुखियाले भने–‘त्यो डुङ्गामा पनि प्रशासनले ताल्चा लगाइदिएपछि नदी किनारमै थन्कियो।’
अहिले आफुहरुलाई भोकभोकै बस्नुपर्ने बाध्यता परेको उनले दुखेसो गरे । ‘आफुहरुको टोलमा स्थानीय सरकारले राहत वितरण नगरेको पनि होइन, तर केही मात्र परिवारलाई राहत उपलब्ध गराएको छ’ उनले भने–‘बाँकी परिवारको रेखदेख पनि स्थानीय सरकारले नै गर्नुपर्ने थियो, तर आफुहरुको पिडा कसैले नि वुझेको छैन ।’
सोही ठाउँका मनोजकुमार मुखियाले आफुहरुको दैनिकी सहज पार्नेतर्फ ध्यान पुर्याउन आग्रह गरे । ‘दैनिकी सहज पार्न राहतको व्यवस्था मिलाईदिनुपर्यो वा कि त डुङ्गा सञ्चालन गर्ने वातावरण मिलाइदिनुपर्यो’, उनले भने।
उता, नगरपालिका प्रमुख शैलेशकुमार साहले सो स्थानमा बसोवास गर्ने सवै परिवारलाई राहत उपलब्ध गराईसकेको बताउँदै डुङ्गा सञ्चालनमा ल्याउने सन्दर्भमा प्रशासनसँग समन्वय भइरहेको बताए ।