Top_Header_Right_Add

आफ्नै देशमा बिरानो भए सोनापुरका यूवा अजय

‘यताबाट उता जाउ, उताबाट त्यतै जाउ भन्छन्’
आफ्नै देशमा बिरानो भए सोनापुरका यूवा अजय

राजविराज, २६ वैशाख । सप्तरीको बोदेवर्साइन नगरपालिका वडा नम्वर–८ सोनापुरका ३० वर्षिय अजय साह यतिबेला यता न उताको भएको छ । उनी यतिबेला आफ्नै देशमा पनि पराई भन्दा पनि अवहेलित अवस्थामा पुगेका छन् । नेपालका प्रहरीले यता हामी बस्न दिँदैनौ उतै जाउ, उताको भारतीय प्रहरीले यता पनि हामीले बस्न दिँदैनौं, हामीलाई राख्न मिल्दैन ।
पीडित अजय तीन महिना अघि मजदूरी गर्न भारतको मध्यप्रदेश स्थित मैहर भन्ने ठाउँमा मजदूरी गर्न गएका थिए । त्यहाँ केही दिन राम्रैसँग काम चलिरहेको थियो । सोही क्रममा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन भारत सरकारले लकडाउन आह्वान गरेपछि उद्योग बन्द भएपछि उनी बेरोजगार भए ।
उनीसँग भएको रकमले करिब एक महिनासम्म बसेर खाएँ । तर साथमा भएको रकम सकिएपछि अजय अन्य मजदूरसँगै पैदलै घरतर्फ हिँडे । बाटोमा बस्दै, रात गुजार्दै घर फर्किने क्रममा सिमावर्ती क्षेत्र भारतको खुटौनामा प्रहरीले उनलाई पक्रेर क्वारेन्टाइनमा राखे । त्यहाँ २१ दिन क्वारेन्टाइन बसिसकेपछि त्यहाँबाट स्वस्थ्यताको प्रमाण दिएर मुक्त गरिदिए । उनी हातमा प्रमाण बोकेर घरतर्फ हिँडे । शुक्रवार घर आईपुगे । त्यहाँका वासिन्दाले भारतबाट आएको भन्दै प्रहरीलाई खबर गरेपछि रामनगर–कोदरकट्टी स्थित सशस्त्र प्रहरीको आउट पोष्टको र काचन स्थित प्रहरी चौकीबाट प्रहरी टोली अजयको घर पुगेको छ । सशस्त्र प्रहरीको समन्वयमा खुटौना स्थित भारतीय प्रहरी टोली समेत आईपुगेको छ ।
पीडित अजयका अनुसार भारतीय प्रहरीले ‘क्वारेन्टाइनमा बसिकेकोले हामी उता लान मिल्दैन र क्वारेन्टाइनमा पनि राख्न मिल्दैन’ भनी अडान लिएको छ । तर नेपाली सशस्त्र प्रहरीले ‘हामी न त घरमा बस्न दिन्छौं न त क्वारेन्टाइनमा पठाउँछौ, जहाँबाट आएको हो, त्यही पठाईदिन्छौ’ भन्दैआएको छ । ‘आफु नेपालको क्वारेन्टाइनमा पनि बस्न तयार रहे पनि भारत नै पठाउँदैछ’ अजयले भने ‘आफ्नै देश र आफ्नै घरमा पनि बिरानो भएको छु, नेपाली प्रहरीले उता जाउ भन्छ, भारतीय प्रहरीले भन्छ हामीलाई राख्न मिल्दैन भन्छन् ।’ यस्तो अवस्थामा के गर्ने नगर्ने भनी चिन्ताले सताएको उनले बताए । आफ्नै देशबाट निकाला गरे जस्तै आफुसँग व्यवहार भईरहेको गुनासो गर्दै अजयले भने ‘भारतमा पनि लकडाउन छ, यस्तो अवस्थामा कहाँ जाउँ, कसले बस्न दिन्छ ?, मर्नु नबाँच्नुको अवस्था रहेकोले आ–आफ्नो स्थानबाट पहल गरिदिन उनले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।
यता सशस्त्र प्रहरी कार्यालय राजविराजका प्रहरी उपरीक्षक उद्धव न्यौपानेले भारतबाट जो कोही पनि जस्तोसुकै अवस्थामा प्रवेश गर्न नदिने भनी आफुहरुलाई निर्देशन रहेकोले त्यसलाई पूर्ण रुपमा पालना गराउन प्रतिवद्ध रहेको बताए । भारतबाट नेपालतर्फ आउने ७२ जनालाई हालसम्म फर्काईसकिएको जानकारी दिँदै उनले भने ‘प्राप्त निर्देशन पालना गर्न हामी प्रतिवद्ध छौं, अर्को निर्देशन नआएसम्म हामीले नेपालतर्फ छिर्न दिँदैनौं ।’

तस्विरः सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित सिमामा सुरक्षार्थ सशस्त्र प्रहरी ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer