राजविराज, २५ वैशाख । चार दिनयता सप्तरी जिल्लामा डियुटीमा खटिएका दुई जना प्रहरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर–९ घर भएका प्रहरी हवल्दार राम बहादुर मगरको स्टेनबाइ डियुटीको अवस्थामा विहीबार मृत्यु भएको छ । कार्यालयको ब्यारेक बेडमै सुतिरहेको अवस्थामा उनी विहीबार करिब ९ बजेको समयमा मृत फेला परेका थिए । मृतक मगर खोटाङ्गको ईलाका प्रहरी कार्यालय हलेसी महादेवस्थानमा दरबन्दी भई राजविराज स्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । मृत्युको कारणबारे अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी लकडाउन पालना तथा नेपाल–भारत सिमामा आवत–जावत रोक्नकालागि तैनाथ सप्तरीमा कार्यरत एक सशस्त्र प्रहरी सहायक निरीक्षकको सोमबार मृत्यु भएको थियो । सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्वर–९ स्थित देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक कुलबहादुर कार्कीको मृत्यु भएको थियो । डियुटीमा रहेका ४० वर्षीय झापाको चन्द्रगढी निवासी कार्की अचानक बेहोस भएर ढलेका थिए ।