• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रदेश नम्वर २ का आठै जिल्ला रेड जोनमा

राजविराज, २३ वैशाख । संघीय सरकारले कोरोना संक्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नम्बर २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेड जोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाएको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारी रुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले बताए ।
भारतीय सीमासँग जोडिएको प्रदेश नम्बर २ का आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ। सो क्षेत्रमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नम्बर २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो। लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दुरी कायम गर्नेमा सुधार हुँदै आएको प्रदेश नम्बर २ प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश नम्बर २ मा अहिलेसम्म कोरोना संक्रमितको संख्या १० पुगेको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किसकेको र उनको आरडिटी परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखिएको थियो । ती १० जनाको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचार भइरहेको छ ।
हाल प्रदेश नम्बर २ मा आइसोलेसनमा ३० र क्वारेन्टाइनमा एक हजार १५७ जना रहेको जनाइएको छ। लकडाउनको अवहेलना गरी बाहिर निस्किने ७३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लकडाउनको पालना नगरेको ६ हजार ६७० वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रदेश नम्बर २ ‘रेड जोन’मा आएपछि लकडाउनलाई पूर्णरुपमा पालना गराउन कडाइ गरिनुका साथै सीमा क्षेत्रमा समेत कडाइ गरिएको छ ।  साभारः पहिलो पोष्ट डट्कम