राजविराज, २३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आह्वान गरेको लकडाउन पालना तथा नेपाल–भारत सिमामा आवत–जावत रोक्नकालागि तैनाथ सप्तरीमा कार्यरत एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ ।
सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्वर–९ स्थित देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक कुलबहादुर कार्कीको मृत्यु भएको हो । डियुटीमा रहेका ४० वर्षीय कार्की अचानक बेहोस भएर ढलेका थिए । उपचारकालागि तत्कालै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएकोमा त्यहाँ कार्यरत चिकित्सकले मृत घोषणा गरेको जनाईएको छ ।
मृतक प्रहरी सहायक निरीक्षक झापाको चन्द्रगढी निवासी हुन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पोष्टमार्टम पश्चात शवलाई अन्त्येष्टि गर्न लगिएको अस्पताल श्रोतले जनाएको छ । उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन । यद्यपी उच्च रक्तचापका कारण हृदयघात भई मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।