• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा खुलेयाम दैनिक उपभोग्य सामानहरुमा कालाबजारी

सराकोरवालाहरुको गोलमटोल जवाफ
सप्तरीमा खुलेयाम दैनिक उपभोग्य सामानहरुमा कालाबजारी

राजविराज, २१ वैशाख । दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ति सहज हुन नसक्दा सप्तरी जिल्लामा कालाबजारी बढेको छ ।
माग अनुसार सामानहरु आयात नभएको भन्दै पसलेहरुले उपभोक्ताबाट चर्को मूल्य असुली गर्ने गरिएको हो । दाल, चामल, खाने तेल, मसला, चिनी, बिस्कुट लगायतका सामानहरु बढी मूल्यमा खुलेयाम बिक्री भईरहेको छ । लकडाउनका कारण केही मात्र पसल खुल्ने गरेकोले उपभोक्ताहरु महँगोमा सामान खरिद गर्न बाध्य भएको विष्णुपुर गाउँपालिका वडा नम्वर–१ का रमेश कुमार यादव बताउँछन् । अति आवश्यक सामान भएकाले महँगोमा खरिद गर्न बाध्य भएको जानकारी दिँदै उनी भन्छन् ‘खुलेयाम राजविराज लगायतका बजारहरुमा दैनिक उपभोग्य सामग्रीहरु बिक्री भईरहेको छ तर यसतर्फ स्थानीय सरकारले चासो देखाएको छैन नत स्थानीय प्रशासनले नै ।’
यस्तै गुनासो रहेको छ राजविराज नगरपालिकाकी अर्का उपभोक्ता माया देवी साह । लकडाउनको बहानामा पसलेहरुले मनमौजी रुपमा सर्वसाधारणबाट चर्को मूल्यमा सामान बिक्री गर्ने गरेको उनी बताउँछन् । ‘सामान किन्न जाँदा प्रहरी तथा नेपाली सेनाको टोली केही समयको फरकमा राजविराज हटियामा आउने गर्छन्’ उनी थप्छन् ‘सामान किन्न पनि हतार हुन्छ, प्रहरी तथा सेनाको टोली आएपछि भागाभागको अवस्था हुन्छ, महँगोमै भए पनि खरिद गरेर फर्किनुपर्ने बाध्यता छ ।
के भन्छन् पसलेहरु ?
लकडाउनले गर्दा बाहिरबाट बजारमा सामान आपूर्ति पहिलाको जस्तो सहज नरहेको तथा थोकमा सामान खरिद गर्दा उतैबाट थपेर लिने गरेकोले केही सामानहरुमा थोरै बढाएर बेच्नुपरेको नागमणी किराना पसलका नागमणी साह बताउँछन् । एक महिनायता तेल, चिनी, दाल लगायतका सामानहरुमा साबिक मूल्यमा थोरै बृद्धि भएको उनको दावी छ ।
दैनिक उपभोग्य सामग्रीहरुमा पहिलेको भन्दा अलि बढेको स्वीकार्छन् राजविराज नगरपालिकाका अर्का किराना व्यवसायी रामबाबु साह । सामान मगाउँदा भाडा खर्च नै बढी पर्ने गरेको तथा माग अनुसारको सामान समेत नआउँदा सामान अभाव भएकोले आपूर्ती सहज भएमात्र सहज हुने उनको भनाइ छ ।
के भन्छन् सरोकारवाला ?
राजविराज नगरपालिका लगायत जिल्लाका बजारहरुमा सामानको अभाव नरहेको सप्तरी उद्योग वाणिज्य संघका निमित्त अध्यक्ष शंकर दासको दावी छ । सामानहरु बढी मूल्यमा बिक्री भईरहेको जानकारी आफुहरुकहाँ समेत आएकोले अनुगमन कार्य थालिएको जानकारी दिँदै उनले भने ‘बढी मूल्यमा सामान लिएको कुरालाई अनावश्यक हल्ला फैलाईएको छ, त्यसैले कुनै पनि उपभोक्ताबाट पसलेले बढी मूल्यमा सामान बिक्री गरेको छ भने तत्काल हामीलाई जानकारी दिईयोस्, हामी कार्वाही गर्छौं ।’ राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले नगरमा दैनिक उपभोग्य सामानहरुको अभाव नरहेको तथा वडाहरुमै सामान तथा तरकारीको व्यवस्थापन गरिएको बताउँछन् ।
अनुगमन निरीक्षण एवम् कालाबजारी नियन्त्रण गर्ने निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले दैनिक उपभोग्य सामग्रीहरुको खासै अभाव नरहेको बताउँछन् । आफुहरुकहाँ उजुरी आएमा तत्काल अनुगमन गरी कार्वाही गरिने उनको भनाइ छ ।