राजविराज, २१ वैशाख । कोरोना भाइरस विश्व महामारी बनेको बेला भारतीय मजदुर ल्याएर कोशी नदीको पश्चिमी तटबन्धमा थालिएको स्पर मर्मत कार्यप्रति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीयहरुले विरोध जनाएका छन ।
भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति अपनाउनुपर्ने समान्य सतर्कता समेत भारतीय ठेकेदारहरुले नअपनाएको भन्दै स्थानीयहरुले विरोध जनाएपछि स्पर मर्मत कार्य ठप्प भएको हो । वि.सं. २०११ साल वैशाख १२ गते भएको कोशी सम्झौतामा कोशी ब्यारेज तथा तटबन्धको रेखदेख र मर्मत सम्भार गर्ने सम्पूर्ण जिम्मा भारत सरकारको छ । सोही सम्झौताअनुसार बन्दावन्दीको बेला पनि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १२ स्थित कोशी नदीको पश्चिमी तटबन्धमा स्पर मर्मत कार्य थालिएको छ । तर, २ सय भन्दाबढी भारतीय मजदुर ल्याएर कार्य गराइरहँदा समेत कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति अपनाउनुपर्ने समान्य सतर्कता पनि नअपनाएको भन्दै स्थानीयहरुले मर्मत कार्यप्रति विरोध जनाएका छन ।
भारतबाट मजदुर ल्याएर कार्य गराउँदा मजदुरहरुको कोरोना परीक्षण गराएर ल्याउनुपर्ने तथा वन्दाबन्दीको सामान्य नियम सामाजिक दुरी कायम गरेर कार्य गराउनुपर्नेमा ती कुराहरुलाई समेत ठेकेदार कम्पनीले वास्ता नगरी मर्मत कार्य गराइरहेको राहुल मण्डलको आरोप छ । लकडाउनको सामान्य नियम समेत पालना नगरी भारतबाट दैनिक सयौंको संख्यामा मजदूर ओहोर–दोहोर गराएर काम गर्ने गरेकोले बाध्य भएर काम रोक्न आग्रह गरेको उनले बताए ।
मर्मत कार्यमा स्थानीय मजदुरलाई प्राथमिकतामा राख्नुपर्ने, भारतबाट ल्याइने मजदुरहरुको कोरोना परीक्षण गरी ल्याउनुपर्ने तथा सामाजिक दुरी कायम गरेर कार्य हुनुपर्नेमा माग राखेर स्थानीयहरुले थालेको विरोधका कारण काम पनि ठप्प भएको स्थानीय आकाश कुमार यादवले बताए । वर्तमान अवस्थाको गम्भीरतालाई समेत मध्यनगर गर्दै स्थानीय मजदूरलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यलय सप्तरीले वैशाख १२ गते कोशी योजना सम्पर्क सह भु–आर्जन कार्यालय विराटनगरलाई पत्र काटेर नेपाल प्रवेश गर्नुअघि भाइरस संक्रमित नभएको पत्र पेश गर्नुपर्ने, पछि पनि स्वास्थ्य जाँच यकिन गर्नुपर्ने, स्वास्थ्य मन्त्रालयको प्रोटोकोलअनुसार सम्पूर्ण मापदण्ड पालन गर्नुपर्ने र कामदार तथा कर्मचारीहरुले आवश्यक दुरी कायम गरेर कार्य गर्न–गराउन भनिएको छ ।
उता, जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्दकुमार ठाकुरले दुई देशबीचको सम्झौताअनुसार तटबन्धको मर्मत सम्भार कार्य गर्ने भएको ६ बुँदे नियम पालना गरेर कार्य गर्न विराटनगरस्थित कोशी योजना सम्पर्क सह भु–अर्जन कार्यालय विराटनगरलाई पत्र पठाएको बताए । ‘तटबन्ध मर्मत सम्भारको कार्य गर्न गराउन ६ बुँदे नियम पालना गर्नुपर्ने हुन्छ’ उनले भने–‘सोही अनुसार कार्य सञ्चालन हुनुपर्ने हो, तर काम रोकिएको विषयमा हालसम्म कुनै पक्षबाट जानकारी आएको छैन ।’ जानकारी आएसँगै वास्तविकता वुझेर आवश्यक पहल अघि बढाउने उनले बताए ।
के भन्छन् पूर्व उप–सभामुख यादव ?
हाल भईरहेको स्पर निर्माण कार्यमा नेपाल सरकारको सामान्य निर्देशनलाई समेत पालना नगरी नेपाल–भारत सिमामा लकडाउन रहेको अवस्थामा निर्माणको नाममा हुलका हुल मजदूर दैनिक रुपमा ल्याएर काम गराउनु अत्यन्तै निन्दनीय रहेको स्थानीयवासिन्दा समेत रहेका पूर्व उप–सभामुख गङ्गा प्रसाद यादवले बताउँछन् । भारतको सिमावर्ती क्षेत्रका जिल्लाहरुमा कोरोना भाइरस संक्रमित देखिएको अवस्थामा त्यहाँबाट मजदूर ओसार्ने काम बन्द गरी स्थानीय मजदूरहरुलाई नै राखेर सामान्य दूरी कायम गरेर मात्र निर्माण अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय
लकडाउनमा भारतीय मजदूरबाट मापदण्ड विपरित तटबन्ध निर्माण
हनुनमाननगर नपाका वासिन्दाहरुद्वारा अवरोध