राजविराज २० वैशाख । कोरोना भाइरस कोभिड–१९ नियन्त्रण गर्न फ्रन्टलाइनमा उत्कृष्ट काम गर्ने विश्वका उत्कृष्ट पाँच महिलाको सूचीमा नेपालकी डा. रुना झा पर्न सफल भएका छिन् ।
कोरोना विरुद्धको लडाई विभिन्न चुनौतीहरुसँग जुझ्दै बहादुरीकासाथ काम गर्दैआएकी उनको संघर्षकथालाई संयुक्त राष्ट्रसंघको युएन वुमेनले उत्कृष्ट पाँचमा समावेश गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक झा धनुषाको जनकपुर निवासी हुन् । टेकुमा भईरहेको कोभिड–१९ परीक्षण उनकै नेतृत्वमा भईरहेको छ ।
प्रयोगशालामा ६४ कर्मचारीको कामको व्यवस्थापन, प्रयोगशालाको व्यवस्थापन, कर्मचारीहरुको आवास एवम् खानपीन, रिपोटिङ्ग, प्रेजेन्टेशन लगायतका कामहरु डा. झाले नै कुशलतापूर्वक गर्दैआएकी छिन् । करिब डेढ महिनादेखि उनी एक दिन पनि विदा नलिई राष्ट्रिय जिम्मेवारी वहन गर्दैआएकी छिन् । कोरोना भाइरसको परीक्षण प्रयोगशालामा खट्नुपर्ने भएकोले उनी आफै पनि उच्च जोखिममा रहेकोले घर परिवारबाट टाढा अर्थात अलगै बस्दैआएको छिन् ।
‘न्यूज टुडे’आफु उत्कृष्ट पाँचमा पर्न सफल भएकोमा खुशी व्यक्त उनले सफलताको सम्पूर्ण टिमलाई दिएकी छिन् । कोभिड–१९ विरुद्धको संघर्ष अझैं जारी रहेकोले आ–आफ्नो स्थानबाट प्रत्येक नेपाली जनताको सहयोग आवश्यक रहेको डा. झाले प्रतिक्रिया दिईन् ।