कमल कुमार मण्डल
राजविराज, १७ वैशाख । एस. ई. ई. परीक्षामा सहभागी हुने तथा कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुकालागि एफएमबाट ‘पाठशाला अपना घरेमे’ नामक कार्यक्रम विहीबारदेखि सञ्चालन गर्ने भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सप्तरीको राजविराजबाट ९४.७ मेगाहर्ज सी–एफएमबाट विहिवारदेखि पठन–पाठन गराउने भएको हो । प्रत्येक दिन २ घण्टा दिनको ११ः०० बजे देखि १ः०० बजेसम्म मातृभाषा मैथिली तथा किताबको आधारमा सो कार्यक्रम सञ्चालन हुनेछ ।
कोरोना भाइरसको नियनत्रण तथा रोकथामकालागि जारी गरिएको लकडाउनका कारण विद्यार्थीहरु समेत मारमा परेका छन् । एसईई परीक्षामा सहभागी हुने तथा कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
गाउँपालिकाको आइडीबाट समेत लाईभ रहनुका साथै फोटो पठाइ तथा लेखेर विद्यार्थीहरुले प्रश्न समेत सोध्न सकिने व्यवस्था गरिएको छ । प्रत्येक दिन ४ ओटा विषयको पठन–पाठन हुनुका साथै ३० मिनेटको एउटा विषय पढाइ हुने जनाईएको छ ।
कार्यक्रमले पढाईमा निकै मद्दत पुग्ने पब्लिक माध्यमिक विद्यालय लौनियाँ, तिलाठीमा अध्ययनरत विद्यार्थी रमिता कुमारी मण्डलले बताईन् । लकडाउनले गर्दा ट्युसन पनि पढ्न नसकिने अवस्था रहेकोले केही हदसम्म मद्दत मिल्ने एसईईका परीक्षार्थी रविन मण्डलले बताए ।