• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा चिकित्सकलाई होटेल उपलब्ध गराउन आनाकानी

सप्तरीमा चिकित्सकलाई होटेल उपलब्ध गराउन आनाकानी

राजविराज, १२ वैशाख । सप्तरीमा कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बस्नकालागि होटेल उपलब्ध गराउन आनाकानी गरिरहेकोले पहलकालागि उनीहरुले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले यस्तो आग्रह गरेका हुन् । सिमा जोडिएको उदयपुर जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको तथा उनीहरुमध्ये अधिकांशको ट्राभल हिस्ट्री सप्तरीमै पाईएकोले जिल्ला उच्च जोखिम रहेकोले आफुहरु तयारी अवस्थामा रहे पनि सुरक्षित बास आवश्यक रहेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले बताए ।
आफुहरु अत्यन्तै जोखिमपूर्ण अवस्थामा कोरोना भाइरस (कोभिड–१९)को उपचारमा संलग्न रहनुपर्ने भएकोले यस्तो अवस्थामा सबै पक्षको सहयोग र आवश्यक रहेको बताउँदै उनले भने ‘कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा बस्नुपर्ने भएकोले राजविराजमै होटेल आवश्यक छ’ डा. झाले भने ‘हामीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकालागि केही होटेल व्यवसायीहरुसँग आग्रह ग¥यौं तर मान्न तयार भईरहेको छैन ।’ आफुहरुले ज्यान जोखिममा राखेर मानवीय सेवामा लागेकोले गम्भीरता बुझेर सहयोग गर्न तथा यसकालागि सहयोग गर्न उनले आग्रह गरे ।
सप्तरी जिल्ला कोरोनाको अति समवेदनशिल अवस्थामा रहेकोले आफुहरु तयारीमा जुटेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनका अनुसार कोरोना पोजेटिभ पाईएमा आइसोलेशनमा राखेर चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुलाई राख्नुपर्ने भएकोले होटेल आवश्यक छ । ‘एउटै टिम सात दिनसम्म उपचारमा संलग्न रहनुपर्ने हुन्छ, त्यसपछि सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ, त्यतिबेला उपचारमा संलग्न रहेकाहरुलाई बाहिर जान दिन मिल्दैन’ उनले भने ‘उनीहरुलाई पनि क्वारेन्टाइनमै १४ दिनसम्म अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ ।’
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई छुट्टा–छुट्टै ठाउँमा राख्न नमिल्ने भएकोले सुरक्षित एवम् सुविधाको दृष्टिकोणले होटेल नै उपयुक्त हुने भएकोले आफुहरु खोजीमा रहेको डा. दासले बताए । होटेल उपलब्ध भए बस्न र खान सजिलो हुने भएकोले आफुहरु राजविराजमै होटेलको खोजीमा रहेको जानकारी दिँदै उनले भने ‘यो विषयमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई समेत जानकारी गराएको छु ।’ आफुहरुको आग्रहलाई गम्भीरतापूर्वक लिई होटेल उपलब्ध गराउन तथा उक्त कार्यमा सहयोग एवम् समन्वय गरिदिन सम्वद्ध सबैपक्षसँग मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले आग्रह गरेका छन् ।