राजविराज, ०९ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद आसपासका स्थानीयको विराटनगरस्थित कोशी अस्पतालमा भएको स्वाब परीक्षणमा संक्रमण पाइएका आठ जनाको पुनः परीक्षणमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार ८ जनाकै पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । यसअघि सो क्षेत्रका १३ जनामा कोरोना पुष्टि भएपछि ६९ जनाको स्वाब संकलन गरी कोशी अस्पताल पठाइएको थियो । पीसीआर माध्यमबाट स्वाब परीक्षण गर्दा उनीहरु पोजेटिभ पाइएपछि पुनः परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान स्वाबको नमुना पठाइएको थियो ।
यसअघि मंगलवारै उदयपुरकै अन्य एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार उदयपुरको भुल्के क्षेत्रबाट २ सय ५१ जनाको थ्रोट स्वाब लिएर नेपाली सेनाको चिकित्सक टोली काठमाडौं पुगेको थियो । सोहीमध्ये एक जनामा कोरोना पोजेटिभ पाइएको प्रवक्ता डा.देवकोटाले बताए । योसँगै नेपालमा संक्रमितको संख्या ४२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ जना निको भएर घर फर्केका छन ।
त्यस्तै मंगलबारसम्म देशभरि आरडीटी विधिबाट २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट ८ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ । हालसम्म दुवै विधिबाट गरी ३६ हजार ७ सय १९ को परीक्षण भएको छ । त्यसैगरी अहिलेसम्म विभिन्न आइसोलेसनमा १ सय ७ जना रहेका छन् । काठमाडौंमा ६ जना र उपत्यकाबाहिर १ सय १ जना आइसोलेसनमा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
