राजविराज, ७ वैशाख । निरन्तरको लकडाउनका कारण उत्पादित तरकारी विक्री नहुँदा सप्तरीका किसानहरु मारमा परेका छन् ।
महिनौं लगाएर किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफूल विक्री नभएपछि खेतबारीमै कुहिन थालेको हो । जिल्लाको कोशी नदीको बगरमा सयौं बिघामा व्यवसायिक तरकारी एवम् फलफूल खेती हुँदै आएको छ । साहु महाजनबाट किसानहरुले ऋण लिएर वर्षेनी मौषमी तरकारी खेती गर्दैआएकोमा उपज विक्री गर्ने समयमा नै लकडाउन लम्बिएकोले आफुहरु मारमा परेको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्वर–७ का किसान कृष्ण विहारी मेहताको दुःखेसो सुनाउँछन् । आफुले लगाएको तरकारी खेतीबाट दैनिक करिब तीन–चार सय किलो तरकार उत्पादन हुने गरेकोमा बिक्री गर्ने ठाउँ नपाएर उत्पादित तरकारी कुहिन लागेको बताउँदै उनी भन्छन् ‘ऋण काढेर तरकारी खेती ग¥र्यौं तर बिक्री गर्ने समयमा लामो लकडाउन भएकोले सबै वर्वाद हुने अवस्था आएको छ ।’ 
आफुहरुले खेतमा लौका, फर्सी, भन्टा, काँक्रा लगायतका तरकारीहरु लगाएको जानकारी दिँदै उत्पादित तरकारी विक्री नै नभएपछि ऋण कसरी तिर्ने भनी चिन्ता बढेको उनले बताए । लकडाउनले गर्दा घरबाट निस्किन सक्ने अवस्था नरहेकोले जानकारी दिँदै उनी भन्छन् ‘तरकारी बिक्री वितरण गर्न छुट छ भनी जानकारी पाएर राजविराज तरकारी लिएर बेच्न जाँदा पुलिसको कुटाई खाएर फर्किनुप¥यो ।’
यस्तै दुःखेसो सुनाउँछन् सोही ठाउँका अर्का किसान अशोक कुमार मेहता । उत्पादित तरकारी खेतमा कुहिन लागेकोले मेहनत र लगानी समेत डुब्ने अवस्था आएको गुनासो गर्दै उनले सरकारलाई गम्भीर बन्न आग्रह गरे । व्यवसायिक रुपमा खेती गर्ने किसानहरुलाई सरकारले तरकारी तथा फलफूल ओसार–पसार गर्ने सवारीसाधनलाई छुट दिनुपर्ने उनको भनाइ छ ।
खासगरी कोशी बगरमा व्यवसायिक रुपमै एकल तथा सामुहिक रुपमा तरकारी खेती गर्दै आएकोले उत्पादित तरकारी बिक्री नहुँदा समस्या जटिल रहेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्राविधिक बिन्देश्री खड्गा बताउँछन् । किसानहरुको समस्याप्रति आफुहरु समेत चिन्तित रहेकोले तरकारी ढुवानीकालागि गाडीको पासकालागि पहल गरिरहेको उनले बताए ।
एकातर्फ सर्वसाधारणसम्म तरकारी पुग्न सकेको छैन भने अर्कोतर्फ तरकारीहरु विक्री नै नहुँदा त्यसै खेर जाने अवस्था रहेको छ । सप्तरी जिल्लामा कूल खेतीयोग्य जग्गा ८१ हजार ६ सय ६८ हेक्टर रहेकोमा १० हजार १ सय ४७ हेक्टरमा तरकारी खेती हुँदैआएको छ ।