• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा २ सय ५६ जनाको र्यापिड डाइग्नोटिक टेष्ट गरियो

२ सय ५४ जना नेगेटिभ
सप्तरीमा २ सय ५६ जनाको र्यापिड डाइग्नोटिक टेष्ट गरियो

राजविराज, ०५ वैशाख । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरी क्वारंटीन गरिएका २ सय ५६ जनाको र्यापिड डाइग्नोटिक टेष्ट (आरडिटी) गरिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार शुक्रवारसम्म गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहित स्थानीय तहहरुले सञ्चालन गरेको क्वारंटीनमा रहेका २ सय ३९ पुरुष र १७ जना महिलाको आरडिटी गरिएको हो । जसमा २ जना पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ भने १७ महिला र २ सय ३७ जना पुरुषको आरडिटी नेगेटिभ आएको कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन । ‘आरडिटी पोजेटिभ देखिएका २ जनाको स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षणकालागि धरान पठाएकोमा उहाँहरुको पनि रिपोर्ट नेगेटिभ आएको छ’ उनले भने–‘क्वारंटीनमा रहेका १८ जनाको मलेरिया परीक्षण समेत गरेका छौं, १८ जनैको रिपोर्ट नेगेटिभ छ ।’
प्रमुख यादवका अनुसार शुक्रवारसम्म क्वारंटीनमा रहेका १ महिला तथा १७ जना पुरुषको स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षण गराइएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
१ सय ७८ जना क्वारंटीन
सप्तरीका १८ वटै स्थानीय तहले सञ्चालन गरेको क्वारंटीनमा २ महिला र १ सय ७६ पुरुष गरी १ सय ७८ जना छन । विदेशबाट आएका तथा केहीमा रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिएका व्यक्तिहरुमाथि निगरानी गर्न क्वारंटीन गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
गत चैत्र १२ गतेदेखि शुक्रवारसम्म १५ महिला तथा ३ सय ४५ जना पुरुष गरी ३ सय ६० जनालाई डिस्चार्ज गरिएको कार्यालयका प्रमुख यादवले जानकारी दिए । यसैगरी सो अवधिमा १७ महिला र ५ सय २१ पुरुष गरी ५ सय ३८ जनालाई क्वारंटीन गरिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।