• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अलपत्र यात्रुकालागि शम्भुनाथमा ‘निःशुल्क खाजा घर’

व्यवसायीहरुद्वारा सञ्चालित खाजा घरमा ६ सय जनालाई खाजा खुवाइयो
अलपत्र यात्रुकालागि शम्भुनाथमा ‘निःशुल्क खाजा घर’

राजविराज, ०५ वैशाख । पूर्व पश्चिम राजमार्गमा अलपत्र परेका यात्रुहरुलाई लक्षित गरी सप्तरीको शम्भुनाथ नगरपालिका–३ का व्यवसायीहरुले ‘निःशुल्क खाजा घर’ सञ्चालन गरेका छन ।
वन्दाबन्दी (लकडाउन)का कारण सवारी साधन चल्न नसक्दा हिँडेरै घरतर्फ लागेका यात्रुहरुलाई निःशुल्क खाजा खुवाउन पूर्व पश्चिम राजमार्ग छेउमै रहेको ट्राफिक चौकमा खाजा घर सञ्चालन गरिएको हो । लकडाउनले पसलहरु पनि बन्द रहँदा काठमाडौं, पोखरा, वुटबल लगायतका स्थानबाट घर हिडेका यात्रुहरुले खानेपानीसम्म नपाईरहेकाले बजारवासीले पहल गरेर यात्रुहरुकालागि निःशुल्क खाजाको व्यवस्था गरेको छ । ‘सुरुमा आफ्नै पहलमा खाजा घर सञ्चालन गरे, पछि बजारका व्यवसायीहरुको पनि साथ र सहयोग पाइरहेको छु’ स्थानीय विरेन्द्रकुमार साहले भने–‘बजारभरिका व्यवसायीहरुले चिउरा, भुजा, दालमोट, चाउचाउ, विस्कुट लगायतका सामाग्री उपलब्ध गराईरहेका छन्, सोही सामाग्रीहरु राजमार्ग भएर हिँड्दै गईरहेका यात्रुहरुलाई दिदै आएको छु ।’


उनले खाजा बाहेक पनि बजारमा क्लिनिक तथा औषधी पसल सञ्चालन गरिरहेकाहरुले समान्य खालका औषधीहरु समेत निःशुल्क वितरण गर्दै आएको बताए । ४ दिनअघि सञ्चालन गरेको खाजा घरमा शुक्रवारसम्म ५/६ सय जना यात्रुहरुलाई निःशुल्क खाजा खुवाइएको बताउँदै उनले लकडाउनको अवधिभर खाजा घर सञ्चालनमा रहने बताए ।
व्यवसायीहरुले अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुर्याएर सहयोग गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग आग्रह समेत गरेका छन ।