• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सबै किसानको गहुँबाली काट्दै तिलाठी कोइलाडी गाउँपालिका

अध्यक्ष सिंह भन्छन्‘ जनताको पीडा बुझ्नु जनप्रतिनिधीको दायित्व हो’
सबै किसानको गहुँबाली काट्दै तिलाठी कोइलाडी गाउँपालिका

राजविराज, २८ चैत्र । लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानहरुलाई समस्या भईरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ ।
आठ ओटै वडामा लगाईएको सम्पूर्ण किसानको गहुँबाली मेसिनबाट निःशुल्क काट्ने प्रबन्ध मिलाईएको हो । पाकेको गहुँ खेतमै झर्न लागेको अवस्थामा गाउँपालिकाले जनताको पीडा बुझिदिएकोमा किसानहरुले खुशी व्यक्त गरेका छन् ।
कोमल देवी ठाकुरका अनुसार लकडाउनका कारण घरबाट निस्किन सक्ने अवस्था नरहेको तथा मजदूर समेत पाउन समस्या रहेकोले किसानहरुलाई गहुँबाली भित्र्याउने चिन्ता बढेको थियो । मेहनत र लगानी खेर जाने अवस्थामा जनप्रतिनीधिहरुले थालेको कार्य सराहनीय रहेको उनले बताईन् ।
गहुँ बाली काट्ने समस्या सम्पूर्ण किसानहरुको सामुहिक चिन्ताको विषय रहेकोले आफुहरुले गहुँबाली काटेर सहयोग गर्ने भावनाका साथ गहुँ काट्ने प्रबन्ध मिलाएको वडा अध्यक्ष गुलाब प्रसाद सिंहले बताए । आफुहरुले भ्याएसम्म जनताको दुःख पीडामा मलम लगाउने कार्य गरेको उनले प्रतिक्रिया दिए ।
यता गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले विपद्को अवस्थामा जनताको पीरमर्का जनप्रतिनीधिले बुझिदिनु स्वाभाविक भएकोले गाउँपालिकाकै खर्चमा सबैको गहुँबाली काट्ने व्यवस्था मिलाएको बताए । यसले गर्दा लकडाउनको समयमा किसानहरुलाई ठूलो सहयोग हुने उनले विश्वास व्यक्त गरे ।
तिलाठी कोइलाडी गाउँपालिकामा करिब एक हजार बिघामा गहुँबाली लगाईएकोमा करिब पाँच सय बिघा भन्दा बढी गहुँबाले खेतमै लागेको थियो छ । यसैसाता सम्पूर्ण किसानको गहुँबाली काट्ने कार्य सम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिए ।