• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बागलुङबाट १० दिन हिँडेर सप्तरी आइपुगे ७ जना भारतीय मजदुर(भिडियोसहित)

‘१३ दिनदेखि भात खाएको छैन्, १० दिनदेखि निरन्तर हिँड्दैछु, केही सहयोगी हात र पुलिसको जातले अहिलेसम्म हामी जिउँदै छौं ।’
बागलुङबाट १० दिन हिँडेर सप्तरी आइपुगे ७ जना भारतीय मजदुर(भिडियोसहित)

राजविराज, २८ चैत्र । भोकभोकै मर्ने चिन्ताले गण्डकी प्रदेशको बागलुङ जिल्लामा मजदुरी गर्दै आएका भारतीय मजदुरहरु १० दिनसम्म निरन्तर हिँडेर शुक्रवार सप्तरी आइपुगेका छन ।
सरकारले ‘लकडाउन’को समयावधि लम्ब्याएपछि ठेकेदारले पनि मजदुरी वापतको पैसा नदिई अलपत्र छोडेका कारण उनीहरुलाई हिडेरै घर जानुपर्ने बाध्यता परेको हो । ‘ठेकेदारले अलपत्र छोडेर भागेपछि आफुहरुलाई तीन दिनसम्म भातै नखाई बस्नुपर्यो’ मो.बहारुद्दिनले भने–‘खान नपाएपछि भोकभोकै भएपनि घर जाने अठोटकासाथ हिड्न सुरु गरे ।’
मजदुरी गर्न गएका सातै जना भारतीय मजदुरहरु हिडेर शुक्रवारसम्म करिब ६ सय किलोमिटरको दुरी पार गरेर सप्तरीसम्म आएपछि निराश र थकित भएका छन् । ‘मजदुरी वापतको पैसा नै दिएन, अहिले कसैको पनि गोजीमा एक रुपैयाँसम्म छैन, त्यसमाथि बोर्डर कसरी पार गर्ने चिन्ता।’ मो.तहितले भने–‘१३ दिनदेखि भात खाएको छैन्, १० दिनदेखि निरन्तर हिँड्दैछु, केही सहयोगी हात र पुलिसको जातले अहिलेसम्म हामी जिउँदै छौं ।’
उनले बाटोभरि प्रहरीले नै खाजा खुवाएपछि यहाँसम्म सकुशत आएको बताए । ‘भोक लागेको बेला बाटोमा भेटेको प्रहरीसँग नै माग्थे, उहाँहरुले पनि चिउरा, भूजा, दालमोट र पानी दिनुहुन्छ’ उनले भने–‘बाँकी कसैले पनि सहयोग गरेन् ।’
अर्का मो.सहमतले विहारको सुपौल र अररिया जिल्लामा आफुहरुको घर रहेको भन्दै त्यहाँसम्म पुग्न सकिन्छ कि सकिन्नँ कुराले पिरोलेको दुखेसो गरे । ‘छाक टार्न समस्या हुन थालेको र लकडाउन पनि कहिलेसम्म जाने ठेगान नभएपछि आफूहरु हिडेरै घरतर्फ त लागे, तर भारत कसरी छिर्ने विषयले पिरोलिएको छ’ उनले भने–‘आफ्नो देश छिर्न सकिए हुन्थ्यो, बरु त्यही क्वारेन्टाइनमै बस्छु ।’ ‘हिड्दा हिड्दै मर्छु कि जस्तो भईसक्यो, तर मर्न पनि आफ्नै देशको भुमिमा चाहन्छु,’ उनले थपे ।
रुपनी गापाद्वारा हिँडेर घरतर्फ लागेका ४० यात्रुलाई खाजा खुवाइयो
पूर्व पश्चिम राजमार्ग हुँदै उनीहरु शुक्रवार रुपनी गाउँपालिका अन्तर्गत रहेको रुपनी बजार आइपुगे । भोकभोकै हिडिरहेका उनीहरु जस्तै अन्य ४० जना यात्रुलाई रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको सहयोगमा इलाका प्रहरी कार्यालय रुपनीका प्रहरी टोलीले खाजा खुवाएका छन ।


गाउँपालिका पूर्व पश्चिम राजमार्गमै रहेकोले यसरी हिडेर यात्रा गर्नेहरुकालागि प्रहरीसँगको सहकार्यमा खाजा खुवाउने प्रबन्ध मिलाइएको गाउँपालिकाका अध्यक्ष यादवले बताए । ‘लकडाउनको बेला पसलहरु पनि बन्द छ, यस्तो बेलामा हिडेरै घरतर्फ लागेका यात्रुहरुले खाना र पानी पाइरहेको छैन्’ उनले भने–‘यी कुरालाई मध्येनजर गरेर हामीले प्रहरीसँग सहकार्य गरि खाजा खुवाउने गरेका छौं ।’

उनले यस्ता यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउनेतर्फ प्रदेश र संघ सरकारलाई ध्यान पु¥याउन आग्रह समेत गरे ।