• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोना भाइरसको आशंका गरिएका २ सय ३६ जना क्वारेन्टीन

कोरोना भाइरसको आशंका गरिएका २ सय ३६ जना क्वारेन्टीन

राजविराज, २६ चैत्र । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरि बुधवारसम्म २ सय ३६ जनालाई क्वारेन्टाइनमा पुर्याइएको छ । उनीहरुमाथि निगरानी गर्न १८ वटै स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको हो ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार २ सय २९ पुरुष र ७ जना महिला गरी जम्मा २ सय ३६ जनालाई क्वारेन्टाइनमा पुर्याइएको छ । जसमध्ये १९ जनालाई डिस्चार्ज गरिएको छ भने १ जनालाई रेफर गरिएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिएका छन । ‘अन्य केही व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ’ उनले भने–‘बाहिरबाट आएका व्यक्तिहरुमा समान्य रुघाखोकी तथा ज्वरो जस्ता लक्षण देखिएकाहरुमाथि निगरानी गर्न क्वारेन्टाइनमा राखिएको हो ।’

कुन स्थानीय तहमा कति छन क्वारेन्टीन वेड?
सप्तरीका स्थानीय तहहरुले बुधवारसम्म ५ सय ८० शैय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ । जसअनुसार नगरपालिकातर्फ राजविराज नगरपालिकाले ३ स्थानमा गरी ७०, कञ्चनरुप नगरपालिकाले ५ स्थानमा गरी ७१, डाक्नेश्वरी नगरपालिकाले १२, बोदेबर्साइन नगरपालिकाले २ ठाउँमा गरी ३० शैय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ ।
यसैगरी, खडक नगरपालिकाले २०, शम्भुनाथ नगरपालिकाले १०, सप्तकोशी नगरपालिकाले २ ठाउँमा गरी ४२, सुरुङ्गा नगरपालिकाले २० र हनुमाननगर कंकालिनी नगरपालिकामा २ स्थानमा गरी ५० शैय्याको क्वारेन्टाइन सञ्चालनमा रहेको छ ।
गाउँपालिकातर्फ भने अग्निसाईर कृष्णासवरन गाउँपालिकामा २४, छिन्नमस्ता गाउँपालिकामा २५, महादेवा गाउँपालिकामा २ स्थानमा गरी ५०, तिलाठी कोइलाडी गाउँपालिकामा २ स्थानमा गरी ५५, रुपनी गाउँपालिकामा ३ स्थानमा गरी ३४ शैय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ ।
यसैगरी विष्णुपुर गाउँपालिकाले १५, बलान बिहुल गाउँपालिकाले १८, तिरहुत गाउँपालिकाले ४ र राजगढ गाउँपालकाले ३० शैय्या गरी सप्तरीमा कुल ५ सय ८० शैय्याको क्वारेन्टाइन सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिए ।

१० जनाकै रिपोर्ट नेगेटिभ
भाइरसको रोकथाम गर्न गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले फिबर क्लिनिक सञ्चालन गरेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा.चुमनलाल दासका अनुसार फिबर क्लिनिकमा बुधवारसम्म २ सय ३५ जनाको जाँच गरिएको छ ।
फिबर क्लिनिकमा शंका लागेका १० जनाको स्वाब संकलन गरी कोरोना भाइरस परिक्षण गराइएको छ । १० जनाकै स्वाब परिक्षण गर्न धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको मेसु डा.दासले जानकारी दिए ।
अस्पतालमै एक जनालाई आइसोलेसनमा राखिएकोमा उनलाई बुधवार डिस्चार्ज गरिएको छ । ‘उनको रिपोर्ट नेगेटिभ आएको तथा केही दिनसम्म निगरानीमा राख्दा पनि केही समस्या नदेखिएपछि उनलाई डिस्चार्ज गरेका छौं, मेसु डा.दासले भने ।’
भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुमाथि निगरानी गर्न अस्पतालमै ६, छिन्नमस्ता अस्पताल र युनिक अस्पतालमा २०–२० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी कुल ५६ शैय्याको आइसोलेसन सञ्चालनमा रहेको छ भने छिन्नमस्ता अस्पतालमा ८ र युनिक अस्पतालमा ५ गरी १३ वटा आइसीयू सेवा समेत तयार अवस्थामा रहेको जनाएको छ ।