बृजमान तामाङ
बिरेन्द्र बजार, २५ चैत । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा मंगलबार महुली सामुदायिक विकास केन्द्रद्वारा लकडाउन प्रभावित एक सय एघार अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
गाउँपालिकाको समवन्यमा वडा नम्बर ४ का दैनिक ज्यालादारीमा खट्ने दलित समुदायका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । लकडाउनका समयमा ज्याला मजदुरी गर्नबाट बन्चित भएका प्रभावितहरुलाई प्रति परिवार चामल १५ किलो, खानेतेल १ लिटर, दाल १ किलो, नुन १ किलो, साबुन १ को दरले राहत प्रदान गरिएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमबाट सुरक्षित रहन सरकारले गरेको लकडाउनको समय लम्बिएसँगै दैनिक ज्यालादारीमा खट्ने मजदुरको परिवारमा खाद्यान्न अभाव हुँदै गएकोले राहत वितरण गरिएको महुली सामुदायिकले जनाएको छ । लकडाउन प्रभावितहरुको जिवनयापन कष्टकर हुँदै गएकोले कर्मचारीको एक महिनाको तलबको ५ प्रतिशत र संस्थाको आन्तरिक कोषबाट गरि १ लाख ५० हजारको राहत स्वरुप खाद्यान्नको व्यवस्था मिलाएको केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिए ।
राहात वितरण गर्न गाउँपालिका अध्यक्ष परशुराम चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेजनारायण यादव, वडा नम्बर ५ का अध्यक्ष श्रीप्रसाद यादव, सशस्त्र प्रहरी बल नेपाल सितापुरका ईन्चार्ज गणेश खत्री, ईलाका प्रहरी कार्यालय महुलीका प्रतिनिधि, जनप्रतिनिधि, संस्थाका पदाधिकारी र कर्मचारीहरुले सहयोग गरेको जनाईएको छ ।