राजविराज, २१ चैत्र । सरकारले आह्वान गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी मजदूरलाई हातमुख जोर्न समस्या भईरहँदा सप्तरीमा एक मनकारी व्यक्तिले खाद्यान्न सामग्री वितरण गरेका छन् ।
गरिब एवम् विपन्न परिवारमा चुलो बल्न बन्द भएको अवस्थामा राजविराज नगरपालिका वडा नम्वर–९ का जवाहर यादवले करिब चार सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका हुन् । उनीहरुको दैनिकी कष्टकर बन्न थालेपछि यादवले गरिब, दलित एवम् विपन्न परिवारलाई जनही १० किलो चामल, एक किलो दाल र नूनसहितका खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
‘प्लस टु’ गरेर काठमाडौं बसेर मेडिकलको तयारी गरिरहेका छोरा प्रभातकुमार यादवलाई काठमाण्डौबाट ल्याउन स्थानीय छिमेकी समेत रहेका समाजवादी पाटीका केन्द्रिय सदस्य एवम् नगर अध्यक्ष भीमराज यादवकहाँ छलफल गरिरहँदा उनको मोबाइलमा म्यासेज आयो । म्यासेज यस्तो थियो ‘पापा, कहलिय जे कम से कम अपन बिहारपुरके सब मजदूरी करैबलाके १० किलो चाउर, एक पैकेट नून, एक किलो दाइल, एकटा साबुन बाँइट दहक, हम घर नई एबौ त मङ्गनीमे १५–२० हजार टका अप–डाउनमे सइठ जेतौ, ओते पैसाक’ सामान बाँइट दियहक, कनी बेसियोक ।’ अर्थात छोरा प्रभातले आफुलाई आवत–जावतमा लाग्ने खर्च र त्यसमा थप गरेर गाउँका मजदूरहरुलाई सहयोग गर्न बुवासँग आग्रह गरे । 
छोराको उक्त म्यासेज पढेर बुवा गम्भीर भए । उक्त म्यासेज नेता भीमराजलाई देखाएपछि उनले समेत होस्टेमा हैंसे गर्दै राम्रो काम हो भन्दै प्रोत्साहन गरे । जवाहरले त्यही बसेर राहत सामग्रीको योजना बनाए । शुरुमा दुई सय परिवारको योजना बनाए । तर पछि बाँड्ने क्रममा राहत सामग्री कम भयो । त्यसपछि जवाहरले थप सामग्री मँगाएर सबै गरिब, दलित एवम् विपन्न परिवारलाई वितरण गरे । खाद्यान्न सामग्री पाएर खुशी हुँदै जवाहरलाई धन्यवाद दिएका छन् । कैयौं दिनदेखि एकछाक तथा भोकै बस्दा पनि जनप्रतिनीधिहरुले समेत ध्यान नदिएको अवस्थामा व्यक्तिगत रुपमा चार सय परिवारलाई खाद्यान्न सहयोग पाएर उनीहरु खुशी हुँदै आ–आफ्नो घर गएका छन् ।
शुरुमा थोरैको योजना रहे पनि पछि हुँदाहुँदै करिब तीन लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरेको जवाहरले बताए । समाजवादी पार्टीका नगर कमिटी सदस्य समेत रहेका उनले आफ्नो छोराको सहयोगी भावना तथा छिमेकी नेता भीमराजको प्रोत्साहनबाट उक्त कार्य सफल भएको बताए ।
समाचार
लकडाउनको पीडामा बिहारपुरका मनकारीको सहयोग
चार सय मजदूर परिवारलाई खाद्यान्न सामग्री