राजविराज, २० चैत्र । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएका २ सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १८ वटै स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा विहिवार २ सय १९ जना रहेका छन । विदेशबाट आएका तथा केहीमा रुघाखोकी र ज्वरो देखिएका व्यक्तिहरुमाथि निगरानी गर्न क्वारेन्टाइनमा राखिएको कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
क्वारेन्टाइनमा २ सय ८ पुरुष र ११ जना महिला रहेका छन । उनीहरुको अवस्था समान्य रहेको छ भने केहीलाई डिस्चार्ज गरिएको जनाएको छ । भाइरस संक्रमणबाट बच्न तथा बचाउनकालागि जिल्लामा उच्च सतर्कता अपनाइएसँगै विदेशबाट आएर लुकीछिपी घरमै बसिरहेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइएको प्रमुख यादवले बताए ।
उता, भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई उपचारकालागि सप्तरीका ४ वटा अस्पतालमा ५६ शैय्याको आइसोलेसन तथा १३ वटा आइसीयू कक्ष तयारी अवस्थामा रहेको जनाएको छ ।