राजविराज, १७ चैत्र । सप्तरीको राजविराज नगरपालिकाले गत शनिवारबाट सञ्चालनमा ल्याएको तरकारी हटिया पूर्ण रुपमा बन्द गरेको छ ।
नगरपालिका कार्यालयले सोमवार सुचना जारी गर्दै वडा नम्वर ७ स्थित राजरङ्गशाला तथा अन्य वडाहरुमा सञ्चालन गरेको तरकारी हटिया पूर्ण रुपमा बन्द गरेको हो । तर तरकारी बेच्ने व्यवसायीलाई ढकिया, ठेला र साइकलको माध्यमले घर घर गई सुरक्षित रुपमा दुरी बनाएर तरकारी किनबेच गर्न सुचनामा उल्लेख रहेको छ ।
सुचनामा भनिएको छ, ‘कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि हामी प्रयासरत भएतापनि यस कार्यकालागि सम्पूर्ण नगरवासीको सहयोगको खाँचो छ ।’ आ–आफ्नो घरभित्र बसी आफु, आफ्ना परिवार र समूदायको ज्यान बचाउन सवैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । केही अप्ठयारो परेको खण्डमा सम्वन्धित वडाका अध्यक्ष तथा वडा सदस्यहरुमार्फत नगरपालिका कार्यालयमा जानकारी गराउन नगर प्रमुख शम्भु प्रसाद यादवले जारी गरेको सुचनामार्फत आग्रह गरिएको छ ।
