• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोना सतर्कताः ठाउँ–ठाउँमा साबुन पानीले हात धुने सुविधा

कोरोना सतर्कताः ठाउँ–ठाउँमा साबुन पानीले हात धुने सुविधा

राजविराज, ९ चैत्र । देशैभरी कोरोना भाइरसको त्रास रहेको अवस्थामा यसबाट जोगिन सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा साबुन–पानीले हात धुन लगाउने तथा सचेतना जगाउन थालिएको छ ।
जिल्ला स्थित विभिन्न राजनीतिक सङ्गठनका भातृ सङ्गठन तथा सामाजिक संस्थाहरुद्वारा सर्वसाधारणकालागि हात धुने प्रबन्ध मिलाएको हो । नेकपाको भातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले विहीबारदेखि नै उक्त कार्यलाई निरन्तरता दिएका छन् ।
संघका जिल्ला विनोद कुमार यादवको नेतृत्वमा विहीबारदेखि जिल्ला प्रशासन कार्यालय, गजेन्द्र चौक दशन चौक, कल्याणपुर, पातो, पत्थरगाडा, मलेठ नहर चौक, हनुमान मन्दिर, राजदेवी मन्दिर, रुपनी बस स्टेण्ड, शनि मन्दिर, सप्तकोशी नगरपालिकाको फत्तेपुर लगायतका स्थानहरुमा उक्त सेवा दिईसकिएको छ । यस्तै आइतवार डा. अशोकानन्द मिश्रको क्लिनिक नजिक, मिलन चौक, पडरिया चौक, उपयोगी पुस्तक पसल, हनुमाननगर र छिन्नमस्तामा सर्वसाधारणलाई बोलाएर हात धुन तथा सरसफाईबारे सचेतना दिईएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य निरञ्जन झाले जानकारी दिएका छन् ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रवेशद्वारमै विरामी, कुरुवा तथा आगन्तुकहरुलाई अनिवार्य रुपमा हात धुन लगाईएको छ । बेसिन राखेर साबुन पानीले हात धुने कार्य आइतवारैदेखि थालिएको मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासले जानकारी दिएका छन् ।
यसैगरी सेभ द सप्तरी नामक सामाजिक संस्थाद्वारा समेत कोरोना भाइरसबाट जोगिन राजविराज स्थित कुनौली सडक मोड र बागेश्वरी मन्दिर नजिक छिन्नमस्ता जाने सडकमा हात धुने प्रबन्ध मिलाएको छ । संस्थाका अध्यक्ष ध्रुव देवको नेतृत्वमा कर्मचारीहरु समेतको सक्रियतामा आइतवारदेखि उक्त कार्यलाई निरन्तरता दिईएको छ । उक्त बाटो भएर आवत–जावत गर्ने सर्वसाधारणलाई बोलाएर हात धुन लगाईएको छ भने नियमित हात धुन सल्लाह समेत सिकाईएको छ ।
यस्तै रुपनी गाउँपालिका लगायत सरकारी कार्यालय, स्थानीय तहहरुमा प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा हात धुन लगाईएको छ । राजविराज नगरपालिकाको विभिन्न वडाहरुमा समेत साबुन पानीले हात धुन तथा कोरोनाबाट जोगिन सचेतना दिन थालिएको छ ।