राजविराज, ८ चैत्र । देशैभरी नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन पूर्व तयारी भईरहँदा सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छुट्टै आइसोलेसन कक्ष स्थापना गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ६ बेडको सुविधा सम्पन्न आइसोलेसन वाड स्थापना गरिएको हो । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाको नेतृत्वमा आइसोलेसन वाड तथा फिभर क्लिनिक आइतवार सञ्चालनमा आउन लागेको छ । फिभर क्लिनिकमा ज्वरो, रुघाखोकीका विरामीहरुको मात्र जाँच गरिने व्यवस्था गरिएको छ ।
अस्पतालमा तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा कोरोना भाइरसको शंकास्पद विरामीको नमूना सङ्कलन गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने व्यवस्था गरिएको डा. दासले जानकारी जानकारी दिएका छन् । उनका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्यकर्मीहरु पूर्ण रुपमा तयारी अवस्थामा रहेको छ ।
यसका साथै साईकृष्णा मेडिकल कलेजको भवनमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिने तयारी भईरहेको डा. दासले बताए । उक्त भवनको सरसफाई गर्नुकासाथै खानेपानी, शौचालय, वाइफाइ लगायतको व्यवस्था मिलाएर क्वारेन्टाइनको रुपमा प्रयोग गरिने जनाईएको छ । अस्पतालमा फिभर क्लिनिकमा आएका शंकास्पद विरामीहरुलाई साईकृष्णा मेडिकल कलेजको भवनको क्वारेन्टाइनमा निगरानीमा राखेर उपचार गरिने डा. दासले जानकारी दिए ।
यसैगरी राजविराजको छिन्नमस्ता हस्पिटल र युनिक अस्पतालले समेत शंकास्पद विरामीहरुकालागि २० बेडको आइसोलेसन वार्ड राखेको तथा आइसियु सेवा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । उक्त अस्पतालहरुमा आवश्यक तयारी समेत थालिसकिएको जनाईएको छ ।
कोरोना भाइरसबाट जोगिन र जोगाउन आफुहरु प्रतिवद्ध रहेको बताउँदै उनले भने ‘हामीहरु पूर्ण तयारी अवस्थामा छौं, कोरोना भाइरसबाट जोेगाउनकालागि परिस्थिति अनुसार सेवा दिन कुनै कमी हुन दिनेछैनौं ।’ भाइरसबाट जोगिन आम जनतालाई समेत सचेत एवम् सतर्क रहन डा. दासले आग्रह गरे ।
समाचार
गजेन्द्रनारायण सिंह अस्पतालमा आइसोलेसन सञ्चालन
साईकृष्णामा क्वारेन्टाइन, छिन्नमस्ता र युनिकमा समेत आइसोलेशन कक्ष