राजविराज, ७ चैत्र । देशैभरि कोरोना भाइरस (कोभिड–१९)को त्रास रहेको अवस्थामा सप्तरी स्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा शुक्रबारदेखि हेल्थ डेस्क स्थापनाकासाथै विशेष सतर्कता अपनाईएको छ ।
दैनिक दुई हजारसम्म श्रद्धालुभक्तजनको ओहोर–दोहोर हुने उक्त शक्तिपीठ पूजाआजा गर्न आउनेहरुको स्वास्थ्य परीक्षण तथा साबुन पानीले हात धुन अनिवार्य गरिएको हो । नेपाल–भारतको विभिन्न स्थानहरुबाट श्रद्धालुभक्तजन आउने गरेकोले कोरोना भाइरसबाट जोगिन विशेष सतर्कता अपनाईएको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए । उनका अनुसार शक्तिपीठमा आउने श्रद्धालुहरुलाई लक्षित गरी स्वास्थ्य चौकी सखडाद्वारा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कमा भक्तजनको रेकर्ड राख्नुका साथै खोकी, ज्वरो, घाँटी दुख्ने समस्या भए नभएकोबारेमा सोधपुछ गर्ने, शरिरको तापक्रम नाप्ने तथा कोरोना भाइरसको जोखिमबाट जोगिने उपायबारे जानकारी दिने गरिएको छ ।
शक्तिपीठभित्र प्रवेश गर्न एकद्वार प्रणाली लागु गरिनुका साथै लाइनमा बस्ने भक्तजनलाई कम्तिमा तीन फिटको दुरी बनाएर राख्ने गरिएको छ । यसलाई व्यवस्थापन गर्न स्वयम्सेवक तथा शक्तिपीठ संरक्षण सम्वद्र्धन समिति समेतलाई सक्रिय पारिएको समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधीश ठाकुरले बताए । शक्तिपीठभित्र पूजाआजामा संलग्न पूजारीहरुलाई समेत अनिवार्य मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन आवश्यक तयारी गरिएको बताउँदै उनले भने ‘पूजारीहरुलाई समेत सतर्कता अपनाउन निर्देशन दिएका छौं, यस अतिरिक्त सरसफाई तथा स्वच्छतामा समेत ध्यान दिईएको छ ।’ शक्तिपीठमा शुद्ध र सफा खानपानी आवश्यक रहेकोले पानी ट्याङ्की जडान भईरहेको पीठाधीश ठाकुरले बताए ।
विश्वभरी नै कोरोना भाइरसको संक्रमणबाट त्रसित रहेकोले शक्तिपीठमा सर्तकता अपनाईएको पीठाधीश ठाकुरले जानकारी दिँदै भने ‘शक्तिपीठ परिसरमा रहेका पूजा तथा प्रसाद पसलहरुमा सरसफाईमा विशेष सतर्कता अपनाईएको छ । स्वास्थ्य चौकी सखडाका ईन्चार्ज अजय कुमार झाको नेतृत्वमा तीन जना स्वास्थकर्मी परिचालन गरिएको छ ।
हेल्थ डेस्कमा पहिलो दिनमै हेल्थ डेस्कमा सात सय पाँच भक्तजनको स्वास्थ्य परीक्षण गरिएको छ । कोरोना भाइरसका संक्रमणबाट नेपाल सुरक्षित नभएसम्म हेल्थ डेस्कबाट सेवा सञ्चालन भईरहने ईञ्चार्ज झाले जानकारी दिएका छन् ।
सप्तरी
छिन्नमस्ता शक्तिपीठमा विशेष सतर्कता
अनिवार्य परीक्षण तथा हात धुने कार्य