• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा सडक र नाला निर्माणमा ठेकेदार कम्पनीको मनलाग्दी

‘पूरै मनपरी छ, नाला पनि कसरी निर्माण गरेको छ?, त्यसको मापदण्ड के हो?, कति लागतमा निर्माण हुँदैछ?, कहिलेसम्म म्याद छ? भन्ने विषयमा कत्तै होडिङ्ग बोर्ड पनि राखेको छैन् ।’
राजविराजमा सडक र नाला निर्माणमा ठेकेदार कम्पनीको मनलाग्दी

राजविराज, ०६ चैत्र । सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीद्वारा राजविराज नगरपालिका–२ मा सञ्चालित सडक तथा नाला निर्माण कार्यमा ठेकेदार कम्पनीले मनपरी गरेको भन्दै स्थानीयहरुले बुधवार प्रदर्शन गरेका छन ।
दुई वर्षअघि निर्माण कार्य सुरु गरिएपनि अझैसम्म निर्माण कार्य पुरा हुन नसक्दा आफुहरुलाई सास्ती खेप्नु परेको स्थानीयहरुको गुनासो छ । ‘दुई वर्षअघि निर्माण कार्य सुरु गरिएपनि अझैसम्म निर्माण कार्य पुरा हुन सकेको छैन्, र अहिले निर्माण कार्य पनि ठप्प छ’ वडा नम्वर २ का ब्रजनारायण चौधरीले भने–‘ठेकेदार कम्पनीको योभन्दा चरम लापरवाही के हुन्छ?, कार्यालयको पनि ध्यान पुगेको छैन्।’
जसका कारणले आफुहरुलाई जाउजाउ गर्न अति नै सास्ती भईरहेको उनले बताए । ‘समस्या दुई–चार साताको हुन्थ्यो भने केही थिएन, तर वर्षौदेखि घर बाहिर निस्किन पनि अप्ठ्यारो हुँदै आएको छ’ उनले भने–‘तैपनि कसैले हाम्रो समस्या वुझेन, बाध्य भएर हामीलाई आन्दोलन थाल्नु प¥यो।’
अर्का स्थानीय राजेन्द्र देवले ठेकेदार कम्पनीको बदमासीका कारण सडक तथा नाला नबन्दा टोल नै कुरुप बनेको बताए । ‘सवैभन्दा ठुलो भनेको ठेकेदार कम्पनी नै भएन नि, तर यहाँ हेर्दा खेरी ठेकेदार कम्पनी नै ठुलो देखियो’ उनले भने–‘पूरै मनपरी छ, नाला पनि कसरी निर्माण गरेको छ?, त्यसको मापदण्ड के हो?, कति लागतमा निर्माण हुँदैछ?, कहिलेसम्म म्याद छ? भन्ने विषयमा कत्तै होडिङ्ग बोर्ड पनि राखेको छैन् ।’
अधुरा नालाहरुको अवस्था पनि वेहाल रहेको भन्दै उनले जसका कारणले टोल नै दुर्गन्धित बन्न पुगेको बताए । ‘अधुरा नालाहरुमा पानी र फोहोर जमेर दुर्गन्ध फैलिएको छ’ उनले भने–‘निर्माण कम्पनीको त ठेकान छैन्, नगरपालिकाको ध्यान पुगेको छैन्।’ उनले जसका कारणले लामखुट्टे पनि बढेकाले टोलमा बस्न नै कठिन भएको गुनासो गरे ।


प्रदर्शन गर्दै सघन सहरी तथा भवन निर्माण आयोजनामा पुगेका उनीहरुले साता दिनभित्र समस्या समाधानतर्फ ध्यान नपुगे बाध्य भएर सशक्त रुपमा आन्दोलन सुरु गर्ने चेतावनी समेत दिए । उता, आयोजनाका प्रमुख रमेशकुमार थिङ्गले पनि ७ दिनभित्रै समस्या समाधान हुने प्रतिवद्धता जनाए ।
न्युज टुडेसँग कुरा गर्दै उनले भने–‘त्यहाँ सडकमा कालोपत्रे गर्ने इस्टिमेट थियो, तर सो ठाउँ डुवान प्रभावित क्षेत्र रहेकोले त्यहाँ कालोपत्रे गरिँदा टिक्दैन, त्यसैले त्यहाँ ढलान गर्ने प्रक्रिया अगाडी बढायौं ।’
सो प्रक्रियाकालागि पनि स्थानीयस्तरबाट आएको रिफारिशअनुसार विभागबाट सहमति लिनुपर्ने आवश्यकता रहेकोले निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएको उनले बताए । ‘नगरपालिकाबाट भर्खरै सिफारिश आईसकेर प्रक्रिया पनि अघि बढिसकेकोले असारसम्म काम सम्पन्न भईसक्नेछ’, प्रमुख थिङ्गले भने ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले राजविराज नगरपालिकामा ३५ करोड रुपैयाँको लागतमा ३ वटा प्याकेजमा ९ दशमलव ६ किलोमिटरमा सडक तथा नाला निर्माण कार्य भईरहेको जनाएको छ ।