• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कोरोना भाइरसबाट बच्न थप ५ वटा नाकामा हेल्थ डेक्स

कोरोना भाइरसबाट बच्न थप ५ वटा नाकामा हेल्थ डेक्स

राजविराज, ०२ चेत्र । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नकालागि सप्तरीमा थप ५ वटा नाकामा हेल्थ डेक्स स्वास्थ्य परामर्श सेवा सञ्चालन गरिएको छ ।
आइतवार राजगढ गाउँपालिका वडा नम्वर २ स्थित बनैनिया अन्धरामण्ठ, डाक्नेश्वरी नगरपालिकास्थित औरही, हनुमाननगर कंकालिनी नगरपालिकास्थित हनुमाननगर, भारदह र रमपुरा मल्हनीय नाकामा हेल्थ डेक्स स्थापना गरिएको हो । स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार नेपाल कोरोना भाइरसको जोखिममा रहेकोमध्ये सप्तरी भारतको खुल्ला सिमानासँग जोडिएका कारण अलि बढी नै जोखिममा रहेकोले सिमानाकामा सतकर्ता बढाइएको हो । ‘भारतसँगै खुल्ला सिमाना जोडिएको सप्तरीका विभिन्न नाका भएर दैनिकजसो हजारौं व्यक्तिहरु आउजाउ गर्ने गर्छन्’ कार्यालयका प्रमुख दुनियालाल यादवले भने–‘सोही क्रममा संक्रमित विरामीहरु पनि सहजै सिमा पार गर्नसक्ने सम्भावना रहेकोले सिमानाकामा हेल्थ डेक्स सञ्चालनमा ल्याएर सतर्कता अपनाइएको छ ।’
यसअघिसम्म राजविराज विमानस्थलकासाथै बलान विहुल गाउँपालिका वडा नम्वर ४ स्थित वेल्ही र वडा नम्वर ५ स्थित रामनगर कोदरकट्टी, डाक्नेश्वरी नगरपालिकास्थित कुशहा, छिन्नमस्ता गाउँपालिकास्थित गोविनपुर र तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ स्थित तिलाठी भन्सारमा हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य परामर्श सेवा सञ्चालन हुँदै आएको छ ।
उता, भाइरसको संक्रमणबाट जोगिन सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइसोलेशन कक्ष तयार पारिएको छ । ‘अस्पतालमा २ वटा शैय्या राखेर आइसोलेशन कक्ष तयार अवस्थामा छ’ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेट दिलीपकुमार साहले भने–‘कोरोनाको लक्षण देखिने व्यक्तिलाई लक्षित गरी हाललाई अस्पतालमा रहेको एउटा कोठ्ठामा आइसोलेशन कक्ष तयार पारे, जसमा वटा शैय्या पूर्ण रुपमा तयारी अवस्था छ।’
वल्ड हेल्थ अर्गनाइजेशन (डब्लुएचओ) काअनुसार विश्वभर भाइरस लागेर ५ हजार ८ सय ३३ मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ४५ जना संक्रमित छन । १ सय ५२ देशमा फैलिएको भाइरस कारण छिमेकी मुलुक भारतमा आइतवार २ जनाको मृत्यु भएको छ । भारतमा १ सय २ जनामा संक्रमण देखिएको डब्लुएचको तथ्याङ्कमा उल्लेख छ ।