• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बलान बिहुलका ३ सय अति विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर

‘घरको माथिबाटै विद्युतीय तार तानिएको छ, तर मिटर खरिद गर्न पैसा नै थिएन’
बलान बिहुलका ३ सय अति विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर

राजविराज, ०१ चैत्र । आर्थिक अभावका कारण विद्युत मिटर जडान गराउन नसक्दा अन्ध्याँरोमै बसोवास गर्दै आएका सप्तरीको बलान विहुल गाउँपालिकाका अति विपन्न परिवारले निःशुल्क मिटर पाएपछि हर्षित भएका छन ।
सबैलाई विद्युतको पहुँचमा ल्याउन नेपाल विद्युत प्राधिकरणले थालेको योजनाअनुसार सो गाउँपालिकाका ३ सय अति विपन्न परिवारलाई शनिवार एक कार्यक्रमको आयोजना गरी निःशुल्क विद्युत मिटर प्रदान गरिएको छ । गाउँपालिकाको समन्वयमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बोदे बरसाईनले सो परिवारलाई निःशुल्क मिटर प्रदान गरेको हो । ‘घरको माथिबाटै विद्युतीय तार तानिएको छ, तर मिटर खरिद गर्न पैसा नै थिएन’ वडा नम्वर ६ की सियावति खंगले भनिन्–‘जसका कारणले अन्ध्याँरोमै बसोवास गर्नुपर्ने बाध्यता छ ।’
अहिले गाउँपालिकाले पहल गरेर आफु जस्तालाई निःशुल्क मिटर उपलब्ध गराएको भन्दै खुशी व्यक्त गरिन् । ‘अब आफ्ना बालबालिकाहरु पनि उज्यालोमा पढ्ने भयो’ उनले भनिन्–‘जहिले बालबालिकाहरु हाम्रो घरमा बत्ति कहिले बल्छ भनेर सोध्ने गर्छन्, हामी त हर्षित छौं नै, मिटर देखेपछि बालबालिकाहरु पनि खुशी हुन्छन्।’
वडा नम्वर ४ की ललितादेवी साहले मिटरकालागि पटक पटक फारम भरिसक्दा पनि मिटर नपाउँदा समस्या हुने गरेको बताइन् । ‘हाम्रा समस्यालाई गम्भिरतापूर्वक लिएर गाउँपालिकाले पहल गरेर गराएको निःशुल्क मिटर वितरण कार्य सराहनीय छ’ उनले भनिन्–‘नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बोदे बरसाईनले निःशुल्क मिटर वितरण गराएर आफुहरुमाथि ठुलै गुण लगायो।’
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बोदे बरसाईनका प्रमुख प्रदिपकुमार शर्माले सबैलाई विद्युतको पहुँचमा ल्याउन थालिएकोे मिटर वितरण कार्यक्रमअनुसार निःशुल्क मिटर वितरण गरिएको बताए । ‘गरिबीका कारण कतिपय विपन्न परिवार अझैसम्म विद्युतको पहुँचमा छैन, अर्कोतर्फ कतिपयले हुकिङ गरेर विजुली वाल्ने गरेको पनि देखिन्छ’ उनले भने–‘सोही कुरालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले सुरु गरेको कार्यक्रमअनुसार अति विपन्न परिवारकासाथै सांस्कृतिक महत्वका सम्पदाहरुकालागि निःशुल्क मिटर वितरण गरिदै आएको छ ।’


विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण कार्यले चुहावट पनि नियन्त्रण गर्न टेवा पुग्ने प्राधिकरणले विश्वास लिएको छ । गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले आफुहरु निर्वाचित भएर आएपछि गाउँपालिकामा विद्युतीकरण गरेपनि अझै विद्युतको पहुँचबाट बाहिर रहेका परिवारलाई विद्युतको पहुँचमा ल्याउन प्राधिकरणसँग सहकार्य गरेर निःशुल्क मिटर वितरण कार्य थालिएको बताए । ‘केही नयाँ बस्ती बोहक गाउँपालिकाभरि विद्युतीकरण भईसकेको छ’ उनले भने–‘तर, यस गाउँपालिकामा अति विपन्न परिवार धेरै छन, आर्थिक अभावका कारण मिटरसम्म जडान गराउन सकेको छैन् ।’
सोही कुरालाई मध्येनजर गर्दै प्राधिकरणलाई आग्रह गरेरै ३ सय अति विपन्न परिवारकालागि निःशुल्क मिटर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष गोइतले बताए । उनले बाँकी रहेको केही अति विपन्न परिवारलाई पनि केही समयभित्रै मिटर उपलब्ध गराइसक्ने जानकारी दिए । कार्यक्रममा प्राधिकरण वितरण केन्द्र बोदे बरसाईनका लेखा फाँटका संगीता श्रेष्ठ र प्रशासन फाँटका ललित कुमार चौधरी लगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थिती थियो ।