• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

गस्ती नहुँदा बोदे बरसाईनमा चोरीका घटना बढ्यो

एक रातमै दुई वटा पसलमा लाखौंको चोरी
गस्ती नहुँदा बोदे बरसाईनमा चोरीका घटना बढ्यो

राजविराज, २९ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिकामा बुधवार राति दुई स्थानमा चोरी भएको छ । तीन थान नागरिकताकासाथै नगद, गरगहना तथा सरसमान गरी करिब ४ लाख रुपैयाँ बराबरको चोरी भएको हो ।
वडा नम्वर २ बैरियाका विन्दुलाल साहले सञ्चालन गरेको ‘मिथलेश किराना पसल’को ताल्चा फुटाएर पसलमा रहेको नगद र सरसमान चोरी भएको छ । सञ्चालक साहका अनुसार पसलमा राखेको नगद २ लाख रुपैयाँ, ५ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड, ६ लिटर नारियल तेल, १ काटुन विस्कुट, १२ पिस सावुनसहितका सरसमान चोरी भएको हो ।
यसैगरी वडा नम्वर ५ बरसाईन टोलमा रामसागर साहले इन्द्रनारायण यादवको घरमा सञ्चालन गरेको किराना पसलमा राखिएको नागरिकता, नगद, सुनको गहना चोरी भएको छ । पसलको ताल्चा फुटाएर साहका साथै उनकी आमा भुलकुनीया देवी तेलिन र पत्नी निर्मलादेवी साहको नागरिकता, स३प २०५० नम्वरको मोटरसाईकलको ब्लुबूक र लाइसेन्स, नगद ४७ हजार रुपैयाँ, डेढ तोलाको सुनको गहना लगायतका सरसमान चोरी भएको जनाएको छ ।
उता, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनले घटनाबारे अनुसन्धान भईरहेको जनाएपनि स्थानीयहरुले भने नगर क्षेत्रमा रातिको समयमा गस्ती नहुँदा चोरीका घटना बढेको आरोप लगाएका छन । यसअघि गत १९ गते आइतवार पनि सोही नगरपालिका वडा नम्वर ५ मुख्य बजारमै मिथिलेशकुमार यादवले सञ्चालन गरेको ‘यधुराज ट्रेडर्स सुन चाँदी’ पसलबाट मोवाइल चोरी भएको थियो । सो चोरीका घटना घटाइएका व्यक्ति पसलमा रहेको सीसीटिभीमा कैद भएपनि प्रहरीले उनलाई पक्राउ भने गर्न सकेको छैन ।