उमेशकुमार साह
राजविराज, २५ फागुन । सप्तरी प्रहरीले नियन्त्रणमा लिएका एक युवक आइतवार विहान हतकडीसहित फरार भएका छन ।
मादक पदार्थ सेवन गरेर आत्महत्या गर्न लागेका बोदे बरसाईन नगरपालिका वडा नम्वर ८ रजापट्टीका ३० वर्षीय महेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यादवले आत्महत्याको प्रयासकासाथै पत्नीलाई कुटपिट गर्न थालेपछि स्थानीयले प्रहरीलाई दिएको सुचनाअनुसार विहान पौने २ बजेतिर उनलाई नियन्त्रणमा लिएर प्रहरी चौकी काचनमा राखेको थियो ।
हिरासतमा राखिएको केहि मिनटमै हतकडीसहित यादव फरार भएको चौकीका इन्चार्ज विजयप्रसाद सिंहले जानकारी दिएका छन । ‘स्थानीयबाट आएको सुचनाअनुसार खटिएको टोलीले उनलाई १ बजेर ४५ मिनटतिर नियन्त्रणमा लिएर चौकीमा हतकडी लगाएर राखेको थियो’ उनले भने–‘करिब सवाँ २ तिर यादव हतकडीसहित फरार भएका हुन्।’
फरार यादवलाई चौतर्फी खोजी भईरहेको चौकीका इन्चार्ज सिंहले बताए । उता, यादवका बुवा सबुरलाल यादवले भने प्रहरीले केही व्यक्तिहरुसँग मिलेर छोरालाई गायब गरेको आरोप लगाए । ‘छोरालाई नियन्त्रणमा लिएसँगै प्रहरीले कुटपिट गर्दै लगे’ उनले भने–‘प्रहरीको मनसाय नै गलत देखियो ।’ उनले छोरालाई घर ल्याईदिनुहुन् आग्रह समेत गरे ।
राष्ट्रिय
हतकडीसहित हिरासतबाटै युवक फरार
प्रहरीले नै गायब गरेको बुवाको आरोप