• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

गायिका अन्जुसँग दुलहा रामविनय जब गायिका डोम बस्ती पुगे

बालबालिकासँग मनाए होली, कोसेलीमा बाँसको पङ्खा (बेना)
गायिका अन्जुसँग दुलहा रामविनय जब गायिका डोम बस्ती पुगे

राजविराज, २४ फागुन । हालै वैवाहिक बन्धनमा बाँधिएकी चर्चित गायिका अन्जु यादव आफ्ना पति रामविनय यादवका साथ सप्तरीको राजगढ गाउँपालिका–५ स्थित डोम बस्ती पुगेर त्यहाँका बालबालिकासँग होली मनाएका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी (सोनामाई) निवासी काठमाण्डौ स्थित पाटन हस्पिटल र नर्भिक ईन्टरनेशनल हस्पिटलमा कार्यरत वाक तथा श्रवण विशेषज्ञ रामविनय यादवसँग उनी वैवाहिक बन्धनमा बाँधिएकी हुन् । विष्णुपुर गाउँपालिका–१ खुरहुरिया निवासी अन्जु ससुरालीबाट फर्किए लगत्तै शनिवार विहान डोम वस्तीका तीन बालिका शान्ति मरिक, सजन मरिक र पिंकी मरिकलाई भेटन् पुगिन् । गत वर्षको विद्यालय भर्ना अभियानका क्रममा उनले तीन बालिकाको अभिभावकत्व ग्रहण गरेकी थिईन् । केही महिनाको फरकमा नियमितजसो उनीहरुकालागि कापी, कलम, झोला, लुगा, खानेकुरा इत्यादि बोकेर गायिका अन्जु पुग्ने गरेकी थिईन् । यद्यपी केही समययता व्यस्ततामा फँसेकी उनी बालिकाहरुकालागि कापी, पेन्सिल, लुगा, बिस्कुट, चाउचाउसहित विहेको कोशेली बोकेर पति रामविनयकासाथ डोम बस्ती पुगिन् ।
त्यहाँ पुग्दाखेरी शान्ति, सजन र पिंकी खुशी हुँदै अन्जुसँग गला मिल्न आइन् । यता नव दुलहा रामविनय भने उक्त वस्तीको दृष्य एक टकले हेरिरहेका थिए । सोही क्रममा बालिकाहरु ‘भिनाजु’ भन्दै नमस्ते गरिन् । उनले समेत बालिकाहरुलाई अँगालो मार्दै के के सिक्यौ ? भन्दै सोध्न थाले । विस्तारै बस्तीका अन्य बालबालिका तथा अभिभावकहरु समेत भेला भए । ‘हमरा सभके लागै छलै जे अन्जु वियाह क्याके चैल गेलै, आब नै एतै’ बस्तीकी सजनी मरिकले थपिन् ‘अन्जु बेटी आ’ जमाय सेहो चैल एलै ।’ खुशी हुँदै बस्तीका अभिभावकहरुले दुलहा रामविनय समक्ष विभिन्न समस्याहरु क्रमशः राख्दै गयो । उनले समेत सन्दै गए ।
एकछिनको भलाकुसारी पछि शान्ति मरिक, सजन मरिक र पिंकी मरिकलाई नव दम्पत्तीले लुगा, कापी पेन्सिल, बिस्कुट, चाउचाउ लगायतका सामग्रीहरु हस्तान्तरण गरे । यसका साथै बस्तीका अन्य बालबालिकाहरुलाई बिस्कुट, चाउचाउ वितरण गरे । अभिभावकहरुको आग्रहमा बालिका रञ्जना मरिकलाई समेत शैक्षिक सामग्री उपलब्ध गराउँदै नव दम्पत्तिले अभिभावकत्व समेत ग्रहण गरे ।
नव दम्पत्तीलाई अबीरले स्वागत
गायिका अन्जु र पहिलो पटक डोम बस्ती पुगेका नव दुलहा रामविनयलाई शान्ति, सजन मरिक, पिंकी र रञ्जनाले अबीर लगाएर स्वागत गरिन् । तत्पश्चात अन्य बालबालिकाहरुले समेत उनीहलाई अबीर लगाए । अन्जु र रामविनयले समेत बालबालिकाहरुसँग रमाइलो गर्दै अबीर लगाउँदै राम्रोसँग पढ्न आशिर्वाद दिए । बालिकाहरुले अन्जुद्वारा स्वरवद्ध ‘पढ दिअ हमरो बाबुजी’ बोलको गीत समेत सुनाउन भ्याईन् ।
सोही क्रममा वाक तथा श्रवण विशेषज्ञ रामविनयले बालबालिकालाई अनिवार्य शिक्षा, वस्ती तथा वरपर सरसफाई, कोरोना भाइरसबाट जोगिने उपायबारे जानकारी दिए । तत्पश्चात उनीहरु डोम वस्ती तथा बालिकाहरुको घर समेत पुग्न भ्याए ।
नव दम्पत्तीलाई मायाको चिनो
नव दम्पत्ती फर्किन लाग्दा वस्तीका महिलाहरुले दुवैजनालाई केहीबेर पर्खिन आग्रह गरे । किन भनी अन्जुले प्रश्न गर्दा ‘जमाय आएल छै त खाली कोना जाय देबै, जनकपुरके दुलहा त हमरा सभके सेहो जमाय भेलै न’ अर्थात खाली हात कसरी जान दिउँ, जनकपुरको दुलहा हाम्रो बस्तीमा आउनुभएको छ भन्दै महिलाहरु तयारी हुन बाँकी रहेको दुई ओटा बाँसको पंखा तयार गरी नव दम्पत्तीलाई दिँदै आशिर्वाद दिईन् । उनीहरु कोशेली पाएर खुशीले गदगद भए ।
नव दम्पत्तिले डोम बस्तीका अगुवा फुदन मरिकलगायतकालाई ढोग्दै आशिर्वाद ग्रहण गरे । सोही क्रममा बस्तीकी सजनी मरिकले ‘रुकु मेजवान, रुकु’ भन्दै हातमा दुई ओटा पचासको नोट बोकेर आईन् । ‘ई राखु मेजवान, गोडलगाइ चियै’ दुलहा रामविनय भावुक हुँदै भने ‘ई पैसा बच्चाके पढाइमे लगाएब, हम फेर अबै छी।’
बालिकाहरुले नव दम्पत्तिलाई हात हल्लाएर विदाई गर्दै फेरी आउन हातले ईशारा गरिरहे । अन्जुले थालेको सामाजिक कार्यको प्रशंसा गर्दै दुलहा रामविनयले आफुले समेत थप सहयोग र साथ दिने प्रतिवद्धता जनाए । बस्तीमा आउँदा आफुलाई ससुराली पुगे जस्तै आभास भएको बताउँदै उनले भने ‘यो बाँसको पंखालाई काठमाण्डौ लगेर जतन साथ सजाएर राख्नेछु, ममाथि जिम्मेवारी समेत थपिएको छ, यसलाई निर्वहन गर्न प्रयासरत रहनेछु ।’
गायिका अन्जु सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरिया निवासी निलम देवी यादव एवम् तेजनारायण यादवकी प्रथम सुपुत्री हुन् । यसैगरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी (सोनामाई) निवासी मनटुट देवी यादव एवम् देवनारायण यादवका माइलो छोरा हुन् रामविनय । अन्जु र रामविनय बिच गत फागुन ७ गते आदर्श विवाह सम्पन्न भएको हो ।