उमेशकुमार साह
राजविराज, २३ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिकाको नयाँ नगर कार्यपालिकाको कार्यालय भवन बन्ने भएको छ । नगर प्रमुख आतेशकुमार सिंहले निःशुल्क रुपमा उपलब्ध गराएको १० कठ्ठा जग्गामा निर्माण हुन लागेको सो भवनको शुक्रवार आयोजित एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । नगर प्रमुख सिंहले भवनको शिलान्यास गर्दै हाल अन्यकै भवनबाट कार्यालय सञ्चालन गर्दै आएकोले आफ्नै भवन निर्माण गर्न लागिएको बताए । ‘अहिले कार्यालय सञ्चालन हुँदै आएको कार्यालयमा ठाउँ अभाव त छ नै’ उनले भने–‘त्यसमाथि सेवाग्राहीलाई पनि सेवा लिन समस्या हुँदै आएको छ ।’
उनले दुई वर्षभित्रमा नयाँ नगर कार्यपालिकाको कार्यालय भवन निर्माण भईसक्ने जानकारी दिएका छन । मुल्य अभिवृद्धि कर र पिएस बाहेक कुल ५ करोड ९७ लाख ३१ हजार ५ सय ११ रपैयाँ ८२ पैसाको लागानीमा सो निर्माण गर्न लागिएको हो ।

२०७६ माघ १६ गते सम्झौता भएर २ वर्षको कार्य आदेश पाएर भवन निर्माण गर्ने जिम्मा ‘न्यू ड्रागन निर्माण सेवा कोटेश्वर ३२ काठमाडौं’ले पाएको छ । तोकेको समयभित्रै कार्यालय भवन निर्माण गरिसक्ने निर्माण कम्पनीले जनाएको छ । शिलान्यास कार्यक्रममा वडा अध्यक्षद्वय लक्ष्मी प्रसाद साह र तपसी यादव, नगरपालिकाका इन्जिनियर अरविन्दकुमार यादव, सवइन्जिनियर अजयकुमार चौधरी, सशस्त्र वेश क्याम्प बोदे बरसाईनका प्रमुख हिमाल केसी, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रमुख लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियो ।