राजविराज, २२ फागुन । छिमेकी मुलुक भारतमा २९ जनामा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सप्तरीमा पनि त्रास बढेको छ ।
वल्ड हेल्थ र्ओगनाईजेसन (डब्लुएचओ) का अनुसार भारतमा २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । खुल्ला सिमानाका कारण सहजै संक्रमित व्यक्ति नेपाल भित्र्निसक्ने सम्भावना रहेकोले सिमानासँग जोडिएको सप्तरीवासीमा कोरोना भाइरसको त्रास बढेको हो ।
सर्वसाधारणमा त्रास बढेसँगै भारतसँग सिमानाका जोडिएका सप्तरीको थप १५ वटा नाकामा हेल्थ डेक्स स्थापना गर्ने कार्य थालिएको छ । ‘नोबेल कोरोना भाइरसको नेपालमा उच्च जोखिम रहेको डब्लुएचओले जनाएसँगै जिल्लामा पनि सतकर्ता अपनाउनु आवश्यक छ’ जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले भने–‘जसमध्ये सप्तरीको सिमाना भारतसँग जोडिएको र भारतमा ज्यादै व्यक्तिहरु संक्रमित देखिएकोले यस जिल्लाबढी सतर्क हुनु जरुरी छ ।’
उनले सोहीअनुसार जिल्लाभरिका सिमानाकामा स्थलगत अवलोकन गरेरै हेल्थ डेक्स स्थापना गर्न लागिएको जानकारी दिएका छन । ‘आफुहरु स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर थप १५ वटा नाकामा हेल्थ डेक्स स्थापना गर्नेतर्फ अघि बढ्यौं’ उनले भने–‘३–४ दिनभित्र सवै ठाउँमा हेल्थ डेक्स स्थापना भईसक्नेछ ।’
निमित्त प्रमुख यादवकाअनुसार बलान विहलु गाउँपालिका वडा नं.४ स्थित बेल्ही र ५ स्थित रामनगर कोदरकट्टी, बोदे बरसाईन नगरपालिका वडा नं.५ देउरी, डाक्नेश्वरी नगरपालिका वडा नं.५ पातो र गमहरिया प्रवाहा, ३ स्थित तरही, ६ स्थित औरही, ८ स्थित करियौत र वडा नं. ४ स्थित भेतहीमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो ।
यसैगरी राजगढ गाउँपालिका वडा नं.१ स्थित झुटकी र २ स्थित बनैनिया, छिन्नमस्ता गाउँपालिका वडा नं. ३ स्थित सखडा गोविन्दपुर, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१४ स्थित रम्पुरा मल्हनियाँ, १३ स्थित गोबरगढा टापु र वडा नं. १ स्थित भारदहमा हेल्थ डेक्स स्थापना गर्ने तयारी थालिएको निमित्त प्रमुख यादवले बताए । विष्णपुर गाउँपालिकास्थित राजविराज विमानस्थल र तिलाठी कोइलाडी गाउँपालिका वडा नं.१ स्थित बेल्ही भन्सारमा यसअघि गत माघ २५ गतेदेखि नै हेल्थ डेक्स परामर्श स्वास्थ्य सेवा सञ्चालनमा ल्याईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले भाइरसको संक्रमणबाट जोगिन नियमित साबुनपानीले हात धुने, खाने कुरा राम्रोसँग सफा गर्ने र पकाएर खाने, माक्सको प्रयोग गर्ने सुझाव समेत दिए ।
यसैगरी भिडभाडबाट सकभर टाढा नै रहने, चरा, मुसा, विरालो, कुकुर जस्ता जनावरबाट टाडा नै रहने तथा सकभर होटल र रेस्टुरेन्टमा खानेकुरा नखाने लगायतका सुझाव दिएका हुन् । उनले रुघाखोकी लाग्ने, १ सय ४ डिग्रीभन्दा उच्च ज्वरो आउने र स्वासप्रवासमा समस्या देखिने वितिकै स्वास्थ्य संस्थामा गएर जाँच गराउन सवैमा आग्रह गरे ।
‘ठुलो जमघट हुने भोज–भतेर, सभा–समारोह नगर्ने’
जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि ठूला खालका जमघट, सभा, समारोहकासाथै होली पर्व पनि भिडभाड गरी नमनाउन आग्रह गरेको छ । ‘विद्यमान स्वास्थ्य प्रतिकुल विश्वव्यापी कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी अनिवार्य रुपमा गर्नै पर्ने सामाजिक कार्य गर्दा सकेसम्म धेरै ठुलो जमघट हुने भोज भतेर तथा सभा समारोहको आयोजना नगर्ने’, कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जारी सुचनामा उल्लेख छ ।
‘संक्रमणबाट जोगिन आमसर्वसाधारणलाई पनि सतर्क हुनु जरुरी’
सेभ चाइल्डहुड फाउण्डेसन नेपालले सप्तरी सदरमुकाम राजविराजमा होली पर्वलाई लक्षित गरी आगामी शनिवार आयोजना गर्न लागेको होली महोत्सव स्थगित गरिएको छ । फाउण्डेशका अध्यक्ष सौरभ यादवले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण ७९ वटा देशमा पुगेको तथा नेपाल पनि उच्च जोखिममा रहेकोले गृहमन्त्रालयबाट सभा समारोहमा नगर्न गरिएको आग्रह अनुसार महोत्सव स्थगित गरिएको जानकारी दिए । ‘संस्थाबाट अर्को सुचना जारी नभएसम्मकालागि हाललाई महोत्सव स्थगित गरिएको हो’ उनले भने–‘गृह मन्त्रालयले मात्रै गरेर हुदैन्, कोरोना भाइरसको संक्रमणबाट जोगिन आमसर्वसाधारणलाई पनि सतर्क हुनु जरुरी छ ।’