बृजमान तामाङ
अग्निसाईर कृष्णासवरन, २२ फागुन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनी चौकमा बजार लाग्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।
गाउँमै ताजा तरकारी, माछा, मासु लगाएतका दैनिक उपभोग्य बस्तु पाउने भएपछि उनीहरु खुशी भएका हुन । गाउँमा बजार लाग्न शुरु भएकोले थोरै सामान लिन समेत बिरेन्द्र बजार, महुली, रुपनी बजार जानू पर्ने बाध्यता टरेको स्थानीय ईश्वरलाल चौधरीले बताए । आफ्नै बजारमा ताजा तरकारी, माछा मासु लगायतका सामाग्री पाएकोमा खुशी व्यक्त गरे । स्थानीय व्यापारी राजेश चौधरीले बजार लागेसँगै चौकमा चहलपहल बढेको बताए ।
उनले बजार भर्न हरिहरपुर, प्रशवनी, तेरहौता, पकरी, दिगुवा लगायत उपभोक्ताहरु आउने गरेको बताए । यस्तै एक दशक देखि चौकमा ब्यापार गर्दै आएका सुर्यमान तामाङले बजार लागेसँगै आफ्नो ब्यापार फस्टाएको बताए । नजिक बजार भएपछि समयको बचत साथै टाढा बजार भर्न जोखिमपूर्ण यात्राबाट मुक्ति मिलेको भन्दै बजार भर्न आएकाहरुले खुशी भएका छ्न ।
साबिक सितापुर गाबिस हाल अग्निसाईर कृष्णासवरन वडा नम्बर २ मा हाटबजार नहुँदा वडावासीले सास्ती खेप्दै आएको वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले बताए । उनले जनताको आवश्यकतालाई मध्यनजर गर्दै चाँदनी चौकमा बिहिबार र सोमबार गरि हप्ताको दुई दिन बजार लगाउन शुरु गरेको बताए । उनले बजारमा दिनप्रतिदिन उपभोक्ताहरुको चाप बढ्दै गएकोले स्थानीय सरकारले समेत व्यवस्थापनकालागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।