उमेशकुमार साह
राजविराज, १९ माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर १० बनौलामा सञ्चालित १० औं टि–२० टुर्नामेन्ट क्रिकेट प्रतियोगिता २०२० को उपाधि बोदे बरसाईन नगरपालिका–२ नेगडा बैरिया टिम सप्तरीले प्राप्त गरेको छ ।
गोल्डेन क्रिकेट क्लब डाक्नेश्वरी नगरपालिका वडा नम्वर १० बनौलाद्वारा शनिवार सञ्चालित फाइनल खेलमा मिर्चौया सिरहा टिमलाई १ सय १३ रनले पराजित गर्दै नेगडा बैरिया टिम सप्तरीले उपाधि हात पारेको हो । प्रतियोगिता अन्तर्गत मिर्चौया सिरहा टिमले टस जितेर बलिङ्ग रोजेका थिए । व्याटिङ्गतर्फ निर्धारित २० ओभर खेल्दै नेगडा बैरिया टिमले ३ सय २७ रन तयार पारे । नेगडा बैरिया टिमकालागि ओम यादवले ६३, राजेशले १ सय ५, वाटशन साहले १९, राजेश कुमारले १५, बब्लुले ३८, संजयले ४० र राहुलले १० रन जोडे ।
३ सय २८ रनको विशाल लक्ष्यका साथ मैदानमा र्औलेका मिर्चौया सिरहा टिमले १६ ओभरमा आफ्नो सवै विकेट गुमाउँदै २ सय १५ रनमै समेटियो । मिर्चौया सिरहा टिमकालागि दिपकले ४८, वासीमले ४७, साङकीले ३९ जावेदले ३४ रन जोडेपनि अन्य खेलाडीले भने रन बनाउन सकेन् ।
फाइनल खेलमा म्यान अफ द म्याच भने विजेता टिमका राजेश खत्री घोषित भएका हुन् । खेल सकिएसँगै आयोजित एक समारोहकाबीच विजेता तथा उप विजेता भएका टिमलाई पुरस्कार प्रदान गरिएको छ । प्रदेश २ का सांसद विदेश्वरप्रसाद यादव ‘विक्की’ प्रमुख आतिथ्यमा आयोजित समारोहमा उनीहरुलाई पुरस्कार प्रदान गरिएको आयोजक समितिका सचिव राजेशकुमार मिश्रले जानकारी दिए ।
सांसद यादव, नगरपालिकाका मेयर शिवनारायण साह तथा आयोजक समितिका अध्यक्ष जुगेश्वर प्रसाद साहले संयुक्त रुपमा विजेता नेगडा बैरिया टिम सप्तरीलाई नगद ३६ हजार रुपैयाँ र कप तथा उप विजेता मिर्चौया सिरहा टिमलाई नगद २६ हजार रुपैयाँ र कप हस्तान्तरण गरेका हुन् ।
प्रतियोगिताको म्यान अफ द सिरिज वाटशन साहलाई साईकल प्रदान गरिएको आयोजक समितिका कोषाध्यक्ष श्रवण चौधरीले बताए । समारोहमा डाक्नेश्वरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष जुगेश्वर साह, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सप्तरी जिल्ला सदस्य मो.अताउल्ला अंसारी, चन्द्रा नमूना माध्यमिक विद्यालयका शिक्षक जितेन्द्र गुप्ता लगायतको उपस्थिति थियो ।