• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी–सिरहाका १ हजार ३२ डोम र मेहतरको पक्की घर बन्ने

सिरहामा प्रदेश सांसदहरुको बैठक समेत बस्न सकेन
सप्तरी–सिरहाका १ हजार ३२ डोम र मेहतरको पक्की घर बन्ने

राजविराज, २० पुस । जनता आवास कार्यक्रम अन्तर्गत सप्तरी र सिरहाका एक हजार चार सय बत्तीस डोम र मेहतरकालागि पक्की घर निर्माण गरिने भएको छ ।
संघीय सरकारको बजेटबाट चालु आर्थिक वर्ष २०७६÷०७७ को असारसम्ममा उक्त घरहरु निर्माण हुने भएको हो । शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाका अनुसार सप्तरीमा ६ सय ६६ र सिरहा जिल्लामा ७ सय ६६ ओटा पक्की आवास निर्माण हुनेछन् ।
बरण्डा सहित दुई कोठे पक्की भवनकालागि सरकारले प्रति घर ३ लाख ३२ हजार ५ सय रुपैयाँका दरले बजेट छुट्याएको छ । यसकासाथै घरसँगै शौचालय निर्माणकालागि थप १० हजार रुपैयाँ उपलब्ध गराईने कार्यालय प्रमुख झाले जानकारी दिएका छन् ।
सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा कार्यालय स्थापना भएपछि आफुले जिम्मेवारी पाएसँगै जनता आवास कार्यक्रमलाई प्राथमिकताकासाथ अगाडि बढाएको उनले बताए । डोम र मेहतरहरुको घर निर्माण गर्नकालागि आफुले सप्तरी जिल्लाका १८ ओटै स्थानीय तहहरुलाई जग्गा व्यवस्थापनबारे पत्राचार गरिसकिएको तथा कतिपय स्थानीय तहबाट जग्गाबारे प्रक्रिया समेत अगाडि बढाईसकिएको कार्यालय प्रमुख झाले जानकारी दिए ।
डोम र मेहतर जातिको बसोबास खासगरी ऐलानी जग्गामा रहेकोले घर निर्माण प्रक्रियामा व्यवहारिक कठिनाई रहेको बताउँदै उनले भने ‘जुन परिवारलाई जग्गाको लालपुर्जा छ, त्यसलाई समस्यै छैन, ऐलानी पर्ती, नहर तथा सडक डिल तथा कसैको निजी जग्गामा बसोबास गर्दैआएकालाई व्यवहारिक समस्या छ ।’ जग्गा व्यवस्थापनकालागि नै स्थानीय तहहरुलाई सिफारिसकालागि आफुले पत्राचार गरेको शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख झाले बताए ।
जनता आवास कार्यक्रम सञ्चालनकालागि सप्तरीमा प्रदेश सभा सदस्य विदेश्वर यादव ‘विक्की’ संयोजक रहेको जानकारी दिँदै उनले समितिको बैठक बसी प्रक्रिया अगाडि बढाइएको बताए । ‘जग्गाको सिफारिस आईसकेपछि हामी तत्कालै निर्माण कार्य अगाडि बढाउँछौं’ उनले भने ‘असार–मसान्तभित्रै पक्की घर निर्माण कार्य सम्पन्न हुने गरी काम थालनी गर्दैछौं ।’
यद्यपी सिरहा जिल्लामा डोम र मेहतरकालागिभने ७ सय ६६ घर निर्माणको प्रक्रिया समेत हालसम्म अगाडि बढ्न सकेको छैन । प्रदेश सभा सदस्य सुनिता राम मोचीको संयोजकत्वमा रहेको समितिको बैठकसम्म बसेको छैन । प्रदेश सभा सदस्यहरु समितिको सदस्य रहने प्रावधान रहेको कार्यालय प्रमुख झाले जानकारी दिँदै भने ‘सिरहामा समितिको बैठक डाक्न हामीले पटक–पटक प्रयास गरे पनि हालसम्म बैठक बस्न सकेको छैन, पुस पनि बित्नै लागेकोले सिरहामा घर निर्माण कार्य प्रभावित हुने सम्भावना बढ्दै गएको छ ।’ सिरहा जिल्लाकालागि समेत घर निर्माण गर्न बजेट निकासा भईसकेको छ ।